• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बिरेन्द्र बजारमा हात्तीद्वारा तीनवटा घरमा तोडफोड, लाखौंको क्षति

बिरेन्द्र बजारमा हात्तीद्वारा तीनवटा घरमा तोडफोड, लाखौंको क्षति

बृजमान तामाङ
बिरेन्द्र बजार, २ पुस । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा मङ्गलबार जङ्गली हात्तीको एक समूहले तीनवटा घरमा तोडफोड गरेको छ ।
कोशीटप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले स्थानीय गिता थापा मगर, देबरुप यादव र श्याम कामैतको घरमा तोडफोड गरि एक लाख बराबरको क्षति गरेको हो । सुतिरहेको अवस्थामा मध्यरातमा आएको हात्तीको समूहले घरको टाटी भत्काएर चामल, चाउमिन, भुजा, डाईनिङ टेबुल, लत्ताकपडा र भाडाकुडा तोडफोड गरि ४० हजार बराबरको क्षति गरेको पीडित गिता थापाले बताईन् ।
उनले हात्तीले टाटी भत्किएको थाहा पाउन साथ नाबालक छोरा च्यपेर भागेर ज्यान जोगाएको जानकारी गराईन् । श्रीमान् रोजगारीका क्रममा काठमाडौमा रहेको र मगर नाबालक छोरासँगै घरमै चिया नास्ता पसल सञ्चालन गरि गुजारा चलाउँदै आएकी छिन् ।
यसैगरी हात्तीद्वारा सोही स्थानका देवरुप यादवको घरको टाटी भत्काएर पलङ्ग, एलईडि टिभी, टेबुल, अन्नपात लगायतका सामाग्रीमा तोडफोड गर्दा ५० हजार रुपैयाँ बराबरको क्षति गरेको छ । तीन महिना अगाडि समेत घरमा हात्तीले तोडफोड गरि लाखौंको क्षति गरेको उनले बताए । क्षतिको विवरण स्थायी सरकारलाई तत्कालै बुझाए पनि कुनै प्रकारको सहयोग नपाएको उनले गुनासो गरे ।
चारवटाको समुहमा आएको हात्तीले घर, झ्याल, बाकस लगायतका फर्निचरका सामानमा तोडफोड गर्दा २० हजार बराबरको धनमाल नष्ट गरेको अर्का पीडित श्याम कामैतले बताए । सोही हात्तीको समूहले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का जय तामाङले लगाएको कोदो बाली खाँदा ३० हजार भन्दा बढीको क्षति गरेको स्थानीयले जनाएको छ ।
सप्तरीको रुपनी, अग्नीसाईर कृष्णासवरन गाउँपालिका, सप्तकोशी, कन्चनरुप, खडक र सुरुङा नगरपालिकामा जङ्गली हात्तीले ठुलो जनधनको क्षति गरे पनि सम्बन्धित निकाय भने समस्या सामाधानप्रति उदासिन देखिएको छ ।