राजविराज, १८ मंसिर । सप्तरीको राजविराज विमानस्थलबाट बुद्ध एयरलाइन्सले आगामी माघ १८ गते शनिवारदेखि नियमित हवाई उडान सेवा सञ्चालन गर्ने भएको छ ।
यसअघि राजविराज विमानस्थलबाट श्रीएयरलायन्सले हप्तामा सोमबार, बुधबार र शुक्रवार उडान भर्दैआएको थियो । श्री एयरलाइन्ससँगै बुद्ध एयरले दैनिक रुपमा हवाईसेवा सुचारु गर्ने निश्चित भएको नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भीमदत्त पन्तले जानकारी दिएका छन् । उनका अनुसार बुद्ध एयरले नियमित उडान भर्ने निश्चित भईसके पनि त्यसको समय भने निक्र्यौल हुन सकेको छैन । हवाई सेवाकालागि उदयपुर, सिरहा, सुनसरी समेतबाट यात्रुहरु आउने भएकोले त्यसलाई समेत मध्यनजर गर्दै आफुले ९ देखि ११ बजेको समयमा उडानकोलागि सुझाव दिएको उनले ‘न्यूज टुडे’लाई जानकारी दिए । बुद्ध एयरबाट आएका प्राविधिक टोलीले स्थलगत अवलोकन गर्दै राजविराजमा कार्यालय सञ्चालनको तयारीमा रहेको नागरिक उड्डयन प्राधिकरण कार्यालय राजविराजका प्रमुख पन्तले बताए । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुहरुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने जनाईएको छ ।
रात्री उडानको समेत तयारी
वि.सं. २०१६ सालमा स्थापना भई हाल सञ्चालनमा रहेको राजविराज विमानस्थलबाट रात्रीकालिन उडानको समेत परीक्षण थालिएको छ । काठमाण्डौबाट दिउँसो १.१० बजे तथा २.१० बजे राजविराजबाट श्री एयरलाइन्सले उडान भर्दैआएको छ । रात्रीकालिन उडानको विषयमा सम्भाव्यता अध्ययनकालागि नागरिक उड्डयन प्राधिकरण काठमाण्डौबाट विज्ञसहितको ६ जनाको टोली राजविराज आईपुगेको राजविराज प्राधिकरणका प्रमुख पन्तले जानकारी दिएका छन् । उनका अनुसार टोलीमा देवेन्द्र श्रेष्ठ, राजेन्द्र सिंह नायक, महेश बस्नेत लगायतका विज्ञ तथा प्राविधिकहरुको टोली अध्ययनसहित आवश्यक तयारी थालेका छन् ।
राष्ट्रिय
राजविराजबाट माघ १८ देखि बुद्ध एयरको उडान
रात्री उडानको अध्ययन गर्दै विज्ञहरुको टोली