• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शम्भुनाथ नपाको सम्पूर्ण कामकाज अनिश्चिकालिन बन्द

शम्भुनाथ नपाको सम्पूर्ण कामकाज अनिश्चिकालिन बन्द

राजविराज, ०१ पौष । वडा अध्यक्षको रिहाई माग गर्दै बुधवारदेखि अनिश्चितकालकालागि सप्तरी शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज बन्द गर्ने भएको छ ।
नगरपालिकाले मंगलवार पत्रकार सम्मेलन गर्दै वलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्ष लक्ष्मी साहलाई रिहाई नगरिएसम्म नगरपालिकाको सम्पूर्ण कामकाज बन्द राख्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले वडाअध्यक्षमाथि लगाइएको आरोप झुठो रहेको दावी गरे । ‘अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको छ, वडा अध्यक्ष साह निर्दोष हुनुहुन्छ ।’ उनले भने–‘वडाअध्यक्षलाई रिहाई नगरिएसम्म नगरपालिका कार्यालयबाट प्रवाह हुँदै आएका सवै सेवाहरु ठप्प रहन्छ ।’
नगर प्रमुख चौधरीले नगरपालिका कार्यालयका साथै मातहतका सम्पूर्ण वडा कार्यालय तथा विषयगत कार्यालयको कामकाज समेत अनिश्चितकालकालागि बन्द रहने पत्रकार सम्मेलनमा जानकारी दिए । सोहि पत्रकार सम्मेलनमा वडा नम्वर ८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मीकान्त चौधरीले उजुरी दर्ता गराएकी महिलाको गैरकानूनी काममा सहयोग नगरेका कारण षड्यन्त्र गरिएको आरोप लगाए ।
नगरपालिकासहित मातहतका वडा कार्यालय र विषयगत कार्यालय बन्दका कारण आम सर्वसाधारणमा पर्न जाने असुविधाप्रति पत्रकार सम्मेलनमा क्षमायाचना समेत गरिएको छ । वलात्कार गर्न खोजेको भन्दै स्थानीय एक महिलाले उजुरी गरेपछि गत मंसिर २२ गते वडा नम्वर १२ का अध्यक्षसाहलाई प्रहरीले पक्राउ गरेको थियो ।