• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्राध्यापक त्रिपुरारी शरणको सिमरिया घाटमा अन्त्येष्टि

प्राध्यापक त्रिपुरारी शरणको सिमरिया घाटमा अन्त्येष्टि

राजविराज, १ पुस । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका अवकाशप्राप्त प्राध्यापक त्रिपुरारि शरणको पार्थिव शरिर अन्त्येष्टिकालागि मङ्गलवार भारतको सिमरिया घाट लगी सोही दिन साँझ अन्त्येष्टि गरिएको छ । भाइ मुरारी शरण वर्माले उनलाई मुखाग्नी दिएको अन्त्येष्टिमा सँगै गएका राजविराजका प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले जानकारी दिएका छन् ।
त्रियासी वर्षिय शरणको सोमवार अपराह्न धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । राजविराज नगरपालिका वडा नम्वर–७ निवासी वरिष्ठ अधिवक्ता बोधकृष्ण भगतको घरमा विगत ६० वर्षदेखि बसोवास गर्दै आएका उनी केही महिनादेखि विरामी रहँदैआएका थिए ।
पछिल्लोपटक निमोनियाबाट बिरामी भएपछि उनलाई उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखि राजविराजमा उपचारार्थ रहेकै अवस्थामा स्वास–प्रस्वासमा समेत समस्या देखिएपछि थप उपचारकालागि सोमवार थप उपचारकालागि धरान लगिएको थियो ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजमा अर्थशास्त्रका प्राध्यापकको रुपमा ४७ वर्ष ३ महिना ३ दिन अध्यापन गरेका शरण प्राध्यापन पेशाबाट अवकाश भएपछि पनि बिना पारिश्रमिककै पुनः सोही क्याम्पसमा प्राध्यापन पेशालाई निरन्तरता दिईरहेका थिए । भारतको सितामढी जिल्ला स्थित माधोपुर सारनाथमा सन् १९३९ मा जन्मेका उनी १३ सेप्टेम्बर १९५९ देखि राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसमा अध्यापन गराउँदैआएका थिए ।
उनको पार्थिव शरिरलाई मङ्गलवार विहान केही समयकालागि क्याम्पसमै राखेर भारततर्फ अन्त्येष्टिकालागि लगिएको थियो । प्रा. शरणलाई अन्तिम श्रद्धाञ्जली दिन राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उपमेयर साधना झा, पूर्व मेयर गोबिन्द प्रसाद सिंह, क्याम्पस प्रमुख प्रा. डा. सर्वेशचन्द्र मिश्र, पूर्व क्याम्पस प्रमुख प्रा. अमरकान्त झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रा. डा. पिताम्बरलाल यादव, नेपाल निजामति कर्मचारी टे«ड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, प्राध्यापक, विद्यार्थी, राजनीतिकर्मी लगायतको उल्लेख्य सहभागिता थियो ।