श्यामसुन्दर यादव
राजविराज, ३० मंसिर । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका अवकाशप्राप्त प्राध्यापक त्रिपुरारी शरणको सोमवार ८२ वर्षको उमेरमा निधन भएको छ ।
धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो ३ बजेको समयमा निधन भएको हो । राजविराज नगरपालिका वडा नम्वर–७ निवासी वरिष्ठ अधिवक्ता बौधकृष्ण भगतको घरमा विगत ६० वर्षदेखि बसोवास गर्दै आएका उनी केही महिनादेखि विरामी रहँदैआएका थिए ।
पछिल्लोपटक निमोनियाबाट संक्रमित भएपछि उनलाई उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखि राजविराजमा उपचारार्थ रहेकै अवस्थामा स्वास–प्रस्वासमा समेत समस्या देखिएपछि थप उपचारकालागि सोमवार करिब १२ बजेको समयमा थप उपचारकालागि धरान लगिएको थियो ।
अस्पतालमा उपचारार्थ रहँदाकै अवस्थामा उनले अन्तिम स्वास लिएको धरानबाट उनका सहकर्मी प्राध्यापक अमरकान्त झाले जानकारी दिएका छन् । गत कार्तिक १६ गते उनको प्रोस्टेटको अप्रेशन गरिएको थियो ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजमा अर्थशास्त्रका प्राध्यापकको रुपमा ४७ वर्ष ३ महिना ३ दिन अध्यापन गरेका थिए । प्राध्यापन पेशाबाट अवकाश भएपछि पनि उनी निःशुल्क रुपमा पुनः प्राध्यापन पेशालाई निरन्तरता दिईरहे । मृदुभाषी एवम् अति मिलनसार स्वभावका उनी स्वस्थ रहुञ्जेल नियमित रुपमा अध्यापन कार्यलाई निरन्तरता दिँदैआएको उनका अति निकटका सहकर्मी प्रा. झाले जानकारी दिए ।
उनका अनुसार महात्मा गाँधीको ‘सादा जिवन उच्च विचार’ भन्ने सिद्धान्तबाट अभिप्रेरित प्रा. शरण आजिवन अविवाहित जिवनयापन गर्दैआएका थिए । भारतको सितामढी जिल्ला स्थित रुनी सइदपुर निवासी उनी राजविराजमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस स्थापना भएपछि अध्यापन गर्न राजविराज आएका थिए ।
राजविराज कारागार अगाडि हुलाकी सडकमा पर्ने बौधकृष्ण भगतको घरमा शुरुदेखि नै भाडामा बस्दैआएको प्रा. झाले जानकारी दिए । उनका अनुसार भगत परिवारले आफ्नै परिवारका अभिभावक सरह नै मान्दैआएकोले सेवाबाट अवकाश भएपछि पनि जन्मस्थान फर्किने विषयमा सोचेन । सप्तरी जिल्लामा जिवनको लामो समयसम्म बस्दा साथीसङ्गी एवम् परिवेशमा घुलमिल भएका कारण उनले कर्मथलोलाई माया गर्दैआएका थिए । 
उनी बस्ने भगतको घरमा प्रायः सप्तरी सहित मधेशका विभिन्न जिल्लाहरुबाट वुद्धिजिवी एवम् राजनीतिकर्मीहरु सल्लाह–सुृझाव एवम् आशिर्वाद लिन आउने गरेको प्राध्यापक झाले ‘न्यूज टुडे’सँग कुराकानी गर्दै बताए । ‘बाँचुञ्जल उनीकहाँ वौद्धिक जमघट प्रायः भईरहन्थ्यो’ उनले भने ‘भेट्न आउने जो कोहीलाई चिया बिस्कुट खुवाएरै पठाउँथे ।’ उनलाई नेपालको नागरिकता लिन पटक–पटक अफर आए पनि उनले लिन मानेन ।
मृतक प्रा. शरणको शवलाई अन्तिम श्रद्धाञ्जलीकालागि सोमवार राती राजविराज ल्याउन लागिएको धरानबाट नेपाल निजामति कर्मचारी टे«ड युनियन सप्तरीका अध्यक्ष समेत रहेका अधिवक्ता अजय कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार प्रा. शरणको शवलाई विहानसम्म वरिष्ठ अधिवक्ता भगतको निवास अन्तिम श्रद्धाञ्जलीकालागि राखिने छन् ।
राष्ट्रिय
सदाकालागि विदा भए आदर्श गुरु प्रा. त्रिपुरारी शरण
‘जो आजिवन राजविराजमा भाडाकै घरमा बसे’