राजविराज, २७ मंसिर । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायालयलाई अझ पारदर्शी बनाउन सञ्चारकर्मीहरुले सशक्त भएर कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।
अदालतको सभाहलमा शुक्रवार ‘न्यायपालिकाको स्वतन्त्रता, न्यायिक सुशासन हाम्रो प्रतिबद्घता’ नाराकासाथ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । न्यायालय र पत्रकारहरु बीच परिपुरक सम्वन्ध हुनुपर्ने बताउँदै उनले भने ‘न्यायालयबाट हुने कार्य सम्पादनको विषयमा कलम नचलाउन हामीले कदापी भन्दैनौं, बरु न्यायालयलाई अझ पारदर्शी बनाउन सञ्चारकर्मीहरुले सशक्त भएर कलम चलाउनुपर्छ, पत्रकारहरुलाई सूचना दिनमा हामीले कञ्जुस्याइँ गर्दैनौं ।’
सार्वजनिक सरोकारका विषयहरुका साथै अदालतबाट भएका आदेशहरु कार्यान्वयन नहुनु एकदमै दुःखद् भएकोले कार्यान्वयनकालागि पत्रकारहरुले कलम चलाएर भूमिका निर्वाह गरिदिन समेत मुख्य न्यायाधीश गजुरेलले आग्रह गरे । अदालत सम्वन्धी विषय तथा कतिपय नयाँ कानूनी व्यवस्थाहरुको विषयमा उच्च अदालतले नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर अन्तरक्रिया एवम् अभिमुखिकरण कार्यक्रमलाई अगाडि बढाईने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
नागरिक मैत्री न्यायलयको अवधारणा अनुरुप निःशुल्क कानूनी सहायता केन्द्र स्थापना, कारागार भित्र न्याययिक शिविर, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका र विकास निर्माण पक्षमा रहेका मुद्दालाई प्राथमिकतामा राखेको बताए । अदालत बाहिर हुने गरेको विचौलिया प्रवृतिका कारण न्यायालयको सेवामाथि गुनासाहरु आउने गरेकोले प्रवेशद्वारमै बिचौलियालाई निषेध गर्ने काम कडाईका साथ लागु गरिएको मुख्य न्यायाधीश गजुरेलले जानकारी दिए ।
कार्यक्रममा न्यायाधीश नारायण प्रसाद श्रेष्ठले यस वर्षको ५ महिनाको अवधिमा ९ सय ४३ मुद्दा फर्छयोट गरेको जानकारी दिए । उच्च अदालतले चालु आर्थिक वर्षमा सरेर आएका दुई बर्षे ४ सय ४० र १८ महिने ६ सय ९ मुद्दालाई शुन्यमा झार्ने प्रतिवद्धता व्यक्त गर्दैै उनले जिम्मेवारी सरेर आएको १ हजार ५ सय ४८ तथा नयाँ दर्ता १ हजार १ सय ३१ मध्ये ९ सय ४३ मुद्दा फर्छयोट भएको तथा बाँकी १ हजार ७ सय ३७ मुद्दा छिटो छरितो ढंगले न्याय सम्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको बताए ।
कार्यक्रमममा न्यायाधीशहरु महेश प्रसाद पुडासैनी, शेखरचन्द्र अर्याल, लेखनाथ पौडेल, विपुल न्यौपाने, सीताराम मण्डल, श्यामजी प्रधान, लेखनाथ ढकाल, उच्च बारका अध्यक्ष रामानन्द साह, जिल्ला बारका अध्यक्ष डोमन साह, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, महासंघका सह–सचिव चन्दन यादव, पत्रकारहरु श्रवण देव, हेमशंकर सिंह, नविन गुप्ता, माला कर्ण, दिनेश शर्मा लगायतले आ–आफ्नो विचार व्यक्त गरे । कार्यक्रम सञ्चालन अदालतका नासु विश्वराज पोखरेलले गरे ।