राजविराज, २१ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ स्थित मोहनपुर टोलमा पहिलो पटक विजुली वत्ती बलेको छ ।
तीन सय घर धुरीलाई लक्षित गरी औपचारिक रुपमा शनिवारदेखि विजुली बत्ती बालिएको हो । गाउँपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत स्वीच अन गरिएको राष्ट्रिय जनता पार्टीका क्षेत्रीय सचिव रविन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा १० लाख तथा २०७५÷०७६ मा १५ लाख रुपैयाँ गरी कुल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको हो । उक्त अवसरमा वडा अध्यक्ष चुनचुन साह, सदस्य लालदेव यादव, स्थानीयवासिन्दा समेतको उपस्थिति थियो ।