• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सात बुँदे मागसहित हरवाचरुवा अधिकार मञ्चको अधिवेशन

सात बुँदे मागसहित हरवाचरुवा अधिकार मञ्चको अधिवेशन

राजविराज, २० मंसिर । हरवा चरुवा अधिकार मञ्च सप्तरीले ७ बुँदे मागअघि सार्दै आफ्नो तेश्रो जिल्ला अधिवेशन गर्ने भएको छ ।
मञ्चले राजविराजमा शुक्रवार पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु उल्लेख गरेका हुन् । हरवा चरुवाहरुको वास्तविक पहिलचानकोलागि प्रत्येक स्थानिय तह र वडा कार्यालयले लागत निकाल्नुपर्ने, आर्थिक वर्ष ०७७ को मसान्तमा हुने गाउँ÷नगर परिषद्बाट स्थानीय तहमा रहेका हरवा चरुवाहरुको सम्वोधन हुने गरी बजेट विनियोजन गरेर मुक्तिकोलागि पहल गर्नुपर्ने उनीहरुको माग रहेको छ । यसैगरी हरवा चरुवाहरुको ऋण मिनाहा हुनुपर्ने, हरवा चरुवाहरुको जिविकोपार्जनकालागि सिप अभिवृद्धिको कार्यक्रम सञ्चालन हुनुपर्ने, सरकारले तोकेको न्यायोचित न्यूनतम ज्याला निर्धारण गरी त्यसको कार्यान्वयन गराउन स्थानीय तह र वडा कार्यालयमा उजुरी लिई अनुगमन गर्ने व्यवस्था हुनुपर्ने माग रहेको पत्रकार सम्मेलनमा जनाएको छ ।
यसैगरी हरवा चरुवाका बालबालिकालाई श्रममा लगाउन नपाउने बाध्यकारी व्यवस्था हुनुपर्ने, हरवा चरुवा, दलित र महिलामाथि हुने अन्यायपूर्ण घटना बन्द गर्न पहल गरी यस्ता घटनामा दोषी देखिएकालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने तथा हरवा चरुवा, दलित, बालबालिकालाई निःशुःल्क शिक्षा मात्रै नभई पोशाक, खाजा, खाना, कपी, किताव र कलमको व्यवस्था गरी विभिन्न बाहनामा विद्यालयहरुले लिने गरेको शुल्कहरु मिनाहा हुनुपर्ने माग अघि सार्दै अधिवेशन गर्ने हरवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल रामले जानकारी दिए ।
पत्रकार सम्मेलनमा यहि मंसिर २५ गते हुने जिल्ला अधिवेशनकालागि सम्पूर्ण तयारी पूरा भईसकेको रामले बताए । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ४ मा अधिवेशन गर्न लागिएको बताइएको छ ।