राजविराज, १९ मंसिर । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ नाराका साथ सप्तरीको रुपनी गाउँपालिकामा १६औं महिला स्वास्थ्य स्वयंसेविका दिवस विहीबार मनाईएको छ ।
रुपनी गाउँपालिका स्वास्थ्य शाखाद्वारा विभिन्न वडाहरुमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनीधि समेतको सहभागितामा गाउँपालिका कार्यालयबाट र्याली निकालिएको थियो । उक्त र्याली रुपनी बजारको विभिन्न भाग परिक्रमा पश्चात कार्यालय भवनमा पुगी सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरेराम यादवले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको भन्दै थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । भिटामिन ए, दादुरा, पोलियो थोपा खुवाउने, हेपाटाइटिस, हात्तीपाईले लगायतका रोगहरु विरुद्ध सरकारले सञ्चालन गर्दैआएको अभियानहरुमा स्वयम्सेविकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताउँदै उनले भने ‘सेवा भावले एकदमै न्यून सुविधामा महिला स्वाथ्य स्वयम्सेविकाहरुले एकदमै लगनकासाथ योगदान पुर्याउँदैआएको छ, उनीहरुकै मेहनतका कारण स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएको छ ।’ आफुहरुले गाउँपालिकाको तर्फबाट समेत आगामी दिनमा विशेष प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेचनी सरदार, वडा अध्यक्षहरु गोविन्द थापा, छेदी ईशर, स्वास्थ्य शाखा प्रमुख रामनारायण यादव, स्वास्थ्य शाखा प्रमुखहरु विरेन्द्र साह, वैद्यनाथ मण्डल, क्षत्री साफी, सितम्बर यादव, नारायण प्रसाद चौधरी लगायतको उपस्थिति थियो । सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वयम्सेविकाहरुलाई सम्मान गरिएको छ ।