राजविराज, १९ मंसिर । सरसफाई अभियन्ता, स्वयंसेवक, जिल्लामा क्रियाशिल सामाजिक संघसंस्था, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नागरिक समाजसमेतको सहभागितामा विहीबार सप्तरीको राजविराज बजारमा कुचो बढार्दै सचेतनामूलक कार्यक्रम आयोजना गरियो ।
अन्तर्राष्ट्रिय स्वंयंसेवक दिवसको अवसरमा ‘स्वच्छ, सफा, सुन्दर राखौ, सरसफाई अभियानमा सहभागि बनौ’, ‘सके सफा गरौं, नसके फोहोर नगरौं’, ‘आज हामी गर्छौ, भोलीदेखि आफै सरसफाई गर्नुस्’ भन्ने आग्रह सहित अस्पताल, सहिद दशन चौक, गजेन्द्र चौक लगायतका सडकहरु सरसफाई गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवम् स्थापना कालदेखि नै युवाहरुलाई स्वयम् सेवातर्फ अग्रसर गराउदै आएको संस्थाहरु ग्रीन नेपाल र सप्तरी युथ नेपालको संयोजनमा आयोजित सरसफाई कार्यक्रम निस्वार्थ समाजको स्वयम्सेवा गर्ने स्वयमसेवकको सम्मान र स्मरण गर्न तथा स्वयमसेवा भाव जागृत गर्ने उद्देश्यले गरिएको आयोजक समितिले जनाएको छ ।
मूल समारोह समिति इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले मन्तव्य व्यक्त गरे । स्वयम्सेवा, स्वयम् सेवाका फाईदा र फोहोर ब्यवस्थापनबारे बोल्दै आफुले गरेको फोहोर आफैले ब्यवस्थापन गरेमा फोहोर ब्यवस्थापनसँगै वातावरण समेत स्वच्छ हुने बताए । ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले स्वागत गरे ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल, सप्तरी युथ नेपाल, ग्रीन नेपाल, मानवअधिकार समूह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मिसन कलेज, क्यालिबर इन्टरनेशनल कलेज, पाराडाइज कलेजका विद्यार्थीहरु, पत्रकार, नागरिक समाज गरी पाँच सय बढीको सहभागिता थियो । इन्सेकको आयोजनामा राजविराजमा आगामी मङ्सिर २१ गते रक्तदान र २४ गते विश्व मानवअधिकार दिवसका अवसरमा गोष्ठि तथा महिला मानवअधिकार रक्षक सञ्जालको आयोजनामा मङ्सिर २२ गते राजविराजमा दिप प्रज्वलन र मङ्सिर २३ गते हनुमाननगरमा सचेतनामूलक तालिम हुने मूल समारोह समितिले जनाएको छ ।
सरसफाई अभियानले निकै छोएको भन्दै मजदुर मो. सबिर मन्सुरीले आफुले कहिले पनि सडकमा फोहोर नफाल्ने र अरुलाई फाल्न हुदैन भन्ने सन्देश प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।