• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

श्रीएयरलायन्सको मनपरीले यात्रुहरुलाई सास्ती

तीन घण्टा ढिलो उडान, अवतरणमा २५ मिनेट आकाशमै होल्ड
श्रीएयरलायन्सको मनपरीले यात्रुहरुलाई सास्ती

राजविराज, १८ मंसिर । राजविराज विमानस्थलमा श्रीएयरलायन्सको मनपरीतन्त्रका कारण यात्रुहरु सास्ती झेल्न बाध्य भएका छन् ।
राजविराज विमानस्थलबाट एकलौटी रुपमा श्री एयरलायन्सले उडान भर्दै आएको हो । उक्त एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शुक्रवार उडान भर्दैआएको छ । काठमाण्डौबाट यात्रु भरेर उडान भर्ने समय दिउँसो १.१० बजे तथा २.१० बजे राजविराजबाट उडान हुने समय रहेको छ ।
हप्तामा तीन दिनमात्र उडान भर्दैआएको श्री एयरलाइन्सले प्रायःजसो उडानहरुमा तीन–चार घण्टासम्म ढिलो गर्दैआएका कारण यात्रुहरु सास्ती झेल्न बाध्य भएका छन् । यात्रुहरुको सुविधालाई समेत बेवास्ता गर्दै बुधबार समेत करिब साढे दुई घण्टा ढिलो अर्थात ४.४० मा राजविराजबाट उडान भरेको यात्रु वरिष्ठ अधिवक्ता हिम्मत सिंहले बताए । आफुहरु निर्धारित समयभन्दा एक घण्टा अगावै विमानस्थल पुगे पनि आफुहरुलाई करिब सवा ४ बजे मात्र विमान उड्ने भनी सूचना दिएको बताउँदै उनले भने ‘काठमाण्डौबाट अब विमान आउँछ, तब आउँछ सुन्दासुन्दै घण्टौं कुर्नुप¥यो ।’ यात्रुहरुको समवेदनशिलतालाई समेत वेवास्ता गर्दै एयरलाइन्स कम्पनीले मनपरी रुपमा प्रस्तुत भएको वरिष्ठ अधिवक्ता सिंहले बताए । सेवालाई विस्तार गरी थप प्रभावकारी बनाउनुपर्नेमा एयरलाइन्स कम्पनीले बेवास्ता गर्दैआएकोले यसतर्फ सम्वन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।
‘राजविराजबाट काठमाण्डौ जानकालागि अन्य ४३ जना यात्रुहरु विमानस्थलमा पर्खिरहेको अवस्थामा एयरलाइन्स कम्पनीका कर्मचारी नै उडान भर्ने वा रद्द हुने विषयमा अन्यौलता प्रकट गरिरहेकोले यात्रुहरुमा थप निराशापन र आक्रोश समेत देखिएको अर्का यात्रु अन्जु यादवले बताईन् । उदयपुर जिल्लाबाट समेत यात्रुहरु आएको जानकारी दिँदै उनले भनिन्–‘१.३५ मा राजविरामा ल्याण्ड गर्ने विमान करिब सवा ४ बजे मात्रै ल्याण्ड ग¥यो, यात्रु प्रतिक्षा कक्षमा रहेका कतिपय विरामी, ज्येष्ठ नागरिक एवम् बालबालिकाहरु छटपटाईरहेका थिए ।’
यात्रुहरुको बोडिङ भईसके पनि उडान भर्ने निश्चितताका नरहेका कारण जरुरी कामले आजै काठमाण्डौ पुग्नुपर्ने बाध्यता रहेको कतिपय यात्रुहरुको मुख मलिन देखिएको थियो भने सो अवधिमा बालबालिकाहरुलाई भोकले विजोग भएको उनले बताईन् । यात्रुहरुले सात–आठ घण्टामा माइक्रोले काठमाण्डौ पु्र्याउने गरेको बताउँदै अर्का एक यात्रुले भने ‘छिटो पुग्नकालागि विमानबाट यात्रा गर्न आएकोमा चार घण्टासम्म कुर्नुपर्दा व्यर्थै जस्तो लाग्यो, कम्पनीले चरम लापर्वाही गरिरहेकोले सम्वन्धित निकाय अविलम्ब गम्भीर बन्नु जरुरी छ ।’
विमान उडानमा किन ढिलो भएको विषयमा श्रीएयरलाइन्स राजविराजका प्रमुख किरण कुमार यादवले कहिलेकाही प्राविधिक समस्याले गर्दा ढिलाई हुने गरेको स्वीकार गरे । समान्य अवस्थामा विमानसेवा तोकिएकै समयमा यात्रु बोकेर आउने तथा तथा यात्रु बोकेर जाने गरेको दावी गर्दै उनले कहिलेकाही मौषमले समेत साथ नदिँदा ढिलो हुने गरेको दावी गरे । यद्यपी, काठमाण्डौबाट राजविराजकालागि कहिलेकाही यात्रु कम भएपछि एयरलाइन्सले समयको हेरफेर मात्रै नभएर उडान समेत रद्द गर्ने गरेको यात्रुहरुको आरोप छ ।
राजविराज विमानस्थलमा कहिले प्राविधिक गडबडी, त कहिले काठमाण्डौबाट ढिलो गरी विमान आएकोले समयमा विमान उडान नसकिएको राजविराज नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख ज्योती प्रकाश साहले बताए । काठमाण्डौबाटै विभिन्न कारणवश विमान ढिलो आएको अवस्थामा आफुहरुले सूचना दिनु बाहेक केही गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
आकाशमै करिब २५ मिनेट
राजविराजबाट अपराह्न २.१० बजे मा उड्ने समेत रहेको श्रीएयरलाइन्स राजविराजबाट ४.४० बजे मात्र यात्रु बोकेर उडान भरेको थियो । करिब २२ देखि २५ मिनेटमा काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने विमान करिब २५ मिनेट आकाशमै होल्ड गरिएको थियो । ट्राफिक समस्याका कारण ल्याण्ड गर्ने ठाउँ नपाएर होल्ड गरिरहँदा यात्रुहरु झन त्रसित भएका थिए । करिब साढे बजे मात्र श्रीएयरलाइन्सको विमान अवतरण भएको थियो ।
उक्त विमानमा पूर्व यूवा तथा खेलकुद मन्त्री एवम् प्रदेश सभा सदस्य सत्यनारायण मण्डल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव लगायतका व्यक्तिहरु रहेका थिए । तस्विरः श्यामसुन्दर यादव/सप्तरी