राजविराज, १४ मंसिर । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडाध्यक्ष पदकालागि भईरहेको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।
एक मतदानस्थलमा ‘क’ र ‘ख’ गरी दुई वटा मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार दिउँसो १२ बजेसम्म ७० प्रतिशत मत खसेको छ ।
स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय हाटीमा भईरहेको मतदानका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने उपनिर्वाचनलाई शान्तिपूर्वक, मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न वाक्लो सुरक्षाकर्मी परिचालित गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोग र स्वयमसेवक गरी १८ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले न्यूज टुडेलाई जानकारी दिए ।
एक हजार चार सय ३ जना मतदाता रहेको सो वडामा छ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ७ जना उम्मेदवारी चुनावी प्रतिष्पर्धामा छन् ।
२०७४ को निर्वाचनमा वडा नम्वर ७ को अध्यक्ष पदमा राजपाबाट निर्वाचित भएका प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजक पदमा चुनिएपछि सो पद रिक्त हुन पुगेको थियो ।