राजविराज, १२ मंसिर । संसदीय क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष (०७६/०७७) मा सप्तरी क्षेत्र नम्वर ३ र ४ को अधिकांश बजेट मठ–मन्दिर र धर्मशाला निर्माणमै खर्चिने भएको छ ।
सांसदहरुको अध्यक्षतामा सम्पन्न बैठकबाट छनोट गरिएको योजना अनुसार क्षेत्र नम्वर ३ र ४ को अधिकांश बजेट मठ मन्दिर र धर्मशाला निर्माणमै खर्चिने देखिएको छ । संसदीय क्षेत्र नम्वर ३ का सांसद चन्द्रकान्त चौधरीको अध्यक्षतामा सम्पन्न बैठकबाट सो योजनाहरु छनोट गरिएको छ ।
जसअनुसार शम्भुनाथ नगरपालिकाको कठौना बजारमा धर्मशाला निर्माण गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ९ मलाह बस्तीमा कमलमाई मन्दिर निर्माण गर्न १० लाख रुपैयाँ, वडा नम्वर ३ मा योग भवन निर्माण गर्न १० लाख रुपैयाँ, वडा नम्वर १ धाँती फिल्डमा सल्हेस मन्दिर निर्माण गर्न १० लाख रुपैयाँ र वडा नम्वर १० भगवति मन्दिर निर्माण तथा पोखरीमा छठिघाट निर्माणमा २० लाख रुपैयाँ गरी कुल १ करोड रुपैयाँ छुट्याइएको छ ।
यसैगरी, डाक्नेश्वरी नगरपालिकामा पातो स्कुलदेखि जुरी नदीमा नदी नियन्त्रण कार्यमा ५० लाख, खानेपानी ट्वेल जडान तथा पलेटफर्म निर्माणमा २० लाख रुपैयाँ, माँ डाक्नेश्वरी मन्दिर, डिहबार मन्दिर निर्माण गर्न १० लाख रुपैयाँ, बलाटी स्कुलपूर्वदेखि कविलाशाको भोलाबाबा मन्दिरसम्म सडक ग्राभेल गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समितिबाट प्राप्त जानकारी अनुसार वडा नम्वर २ लवका टोलदेखि उत्तर नहर हरिराहा टोलसम्म सडक ग्राभेलमा १० लाख रुपैयाँ, वडा नम्वर ३ तरहीको महन्थ बाबा मन्दिर मर्मत सम्भार तथा वाउण्ड्रि वाल निर्माण गर्न १० लाख रुपैयाँ, वडा नम्वर ४ राम जानकी मन्दिर लक्ष्मीपुर टोलको वाउण्ड्रि वाल निर्माणमा १० लाख रुपैयाँ, वडा नम्वर ६ विसनपुर मस्जिददेखि दक्षिण नाला निर्माणमा १० लाख रुपैयाँ, वडा नम्वर ८ खानेपानी ट्वेल चापाकल निर्माणमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी वडा नम्वर ७ राजाजी डिहवारबाबा ललितपुरको वाल तथा गेट निर्माणमा १० लाख रुपैयाँ, वडा नम्वर १० कोशी पम्प नहरको अधुरो पुल निर्माणमा १० लाख रुपैयाँ, वडा नम्वर ९ पोखरीया हुँदै लक्षणपट्टिसम्म सडक निर्माणमा १० लाख रुपैयाँ, वडा नम्वर ७ को मझौरा टोलको रामजानकी मन्दिरदेखि पूर्वको बाटोमा आरसीसी ढलानको लागि १० लाख रुपैयाँ छुट्याइएको छ । डाक्नेश्वरी नगरपालिकामा मात्रै १ करोड ८० लाख रुपैयाँको विभिन्न योजनाहरु छनोट गरिएको छ ।
यस्तै, विष्णपुर गाउँपालिकाको वडा नम्वर ६ दिपक रायको घरदेखि वैद्यनाथ यादवको घर हुँदै गोरियाली टोलको सर्मिला मुखियाँको घरसम्म आरसीसी ढलान गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ४ देवन साहको घरदेखि पूर्व बद्री साहको घरसम्म पोखरीमा वाउण्ड्री वाल तथा सडक निर्माणमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वडा नम्वर ४ रुन्दी महतोको घर नजिकको पोखरीदेखि दक्षिणपट्टी वाल निर्माण तथा पश्चिम धत्तादेखि नारायण महतोको घरसम्म सडक निर्माणमा १० लाख रुपैयाँ र वडा नम्वर ७ इटहरी टोलमा कविर मन्दिरको वाउण्ड्रि र सडक निर्माण गर्न १० लाख रुपैयाँ छुट्याइएको छ । विष्णुपुर गाउँपालिकामा कुल ९० लाख रुपैयाँको विभिन्न योजनाहरु रहेका छन् ।
यसैगरी, राजगढ गाउँपालिका वडा नम्वर ३ स्थित जनता शंकर मावि नर्घोको भवन निर्माण गर्न ५० लाख रुपैयाँ र बर्दाहीदेखि कुरन्मा हुँदै फकिरासम्म सडक ग्राभेल, ह्युम पाइप र कलभर्ड निर्माण गर्न ४० लाख रुपैयाँ समेत गरी कुल ९० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
रुपनी गाउँपालिकाको वडा नम्वर १ रामजानकी गुठ्ठी मन्दिर, पोखरीघाट निर्माण गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ६ मा शनिदेव मन्दिरको गेट निर्माण गर्न १० लाख रुपैयाँ, वडा नम्वर ३ मकरीको विद्यालयदेखि सखुवा टोलसम्म सडक ग्राभेलमा १० लाख रुपैयाँ, वडा नम्वर ४ छपकी टोल दलित बस्तीमा समूदायिक भवन निर्माण गर्न १० लाख रुपैयाँ र वडा नम्वर २ हरिरावामा सामूदायिक भवन निर्माण (चौधरी टोल) मा १० लाख रुपैयाँ समेत गरी गाउँपालिकामा ९० लाख रुपैयाँको बजेट विनियोजन गरिएको जनाएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नम्वर ४ का सांसद तेजुलाल चौधरीको अध्यक्षतामा सम्पन्न वैठकले कुल ६ करोड रुपैयाँको विभिन्न योजनाहरु छनोट गरेको छ । आर्थिक वर्ष ०७६÷०७७ का लागि वलान विहुल गाउँपालिकामा वडा नम्वर २ मा अधुरो हनुमान मन्दिर (दिघिया उत्तर टोल) र नयाँ हनुमान मन्दिर निर्माण कार्य थाल्नी (चन्ही मुक्ति साहको पोखरी) मा ५÷५ लाख गरी कुल १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बोदे बरसाइन नगरपालिका वडा नम्वर १ मा कृषि विद्युतीकरणमा १५ लाख रुपैयाँ र वडा नम्वर १ मै समूदायिक भवन सोहर्वामा पर्खाल र अन्य निर्माण समेतमा १० लाख रुपैयाँ, वडा नम्वर ४ मा विद्युतीकरण गर्न १० लाख रुपैयाँ, वडा नम्वर ६ मा कृषि विद्युतीकरण १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वडा नम्वर ३ मा इन्द्रनारायण यादव स्मृति समारक निर्माण गौरा र सारस्वर कबरीसतान कम्पाउण्ड वाल निर्माण क्रमश ५ लाख र १२ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्वर ७ मा सामूदायिक सभागृह निर्माणमा ५० लाख रुपैयाँ र वडा नम्वर ८ काचनमा प्रसुति भवन निर्माण (अधुरो) गर्न २५ लाख रुपैयाँ समेत गरी सो नगरपालिकामा १ करोड ३७ लाख रुपैयाँको योजना छनोट गरिएको छ ।
यसैगरी, खडक नगरपालिका वडा नम्वर ३ बनरझुलामा बहुउद्देशीय सामूदायिक सभागृह निर्माण गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ६ मा सर्पदंश उपचार केन्द्र भवन निर्माण गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ७ मा साह धर्मशाला निर्माण गर्न १५ लाख रुपैयाँ, वडा नम्वर ५ मा क्लव र अधुरो भवन निर्माण गर्न १० लाख रुपैयाँ तथा रञ्जितपुरमा शसिया महाराज मन्दिर निर्माण गर्न २ लाख रुपैयाँ छुट्याइएको छ ।
वडा नम्वर ८ भदिया चौकमा अधुरो कवर्ड हल निर्माण गर्न २५ लाख रुपैयाँ, वडा नम्वर १ सिस्वामा ऐतिहासिक, सास्कृतिक, पर्यटकीय स्थलको संरक्षण, जानकी मन्दिर जिर्णोधार तथा निर्माण गर्न २० लाख रुपैयाँ, वडा नम्वर १० वेल्हामा ढल र नाला निर्माण गर्न १० लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी सिंचाई बोरिङ्ग पम्प सेट सहित (बोदे बरसाइन, सुरुङ्गा र खडक नगरपालिका तथा वलान विहुल गाउँपालिका) का लागि ६१ लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।
यसैगरी, सुरुङ्ग नगरपालिका वडा नम्वर ५ कुशहामा बहुउद्देशीय कवर्ड हल निर्माण सम्पन्न गर्न ५० लाख रुपैयाँ, वडा नम्वर ११ मा स्वास्थ्य चौकी भवन निर्माण गर्न ५० लाख रुपैयाँ, वडा नम्वर १० थलहामा सामूदायिक अधुरो भवन निर्माण गर्न १० लाख रुपैयाँ, वडा नम्वर १ मा सामूदायिक भवन निर्माण र यात्रु प्रतिक्षालय निर्माण (दुई वटा) गर्न १० लाख रुपैयाँ, वडा नम्वर ७ चकदहमा आदीवासी जनजाति भवन निर्माण गर्न २५ लाख रुपैयाँ, वडा नम्वर ७ देखि ९ सम्म सुरुङ्गा नदी नियन्त्रण कार्य (हरिपुरदेखि पोखरीया हुँदै टिकुलीयासम्म) को लागि २० लाख रुपैयाँ, अशोक गाछीदेखि डिहवारथान र शिवनारायण चौकदेखि उत्तरतर्फ खोलासम्मको बाटोमा ग्राभेल गर्न १० लाख र खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न सुरुङ्ग नगरपालिका र बलान विहुल गाउँपालिकाको लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, संसदीय निर्वाचन क्षेत्र नम्वर २ का सांसद उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न वैठकले एउटै योजनामा कुल ६ करोड रुपैयाँ विनियोजन गरेको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको हाताभित्र त्रिविको सम्वधनमा आंगिक क्याम्पस अन्तर्गतको कार्यक्रम रहने गरी स्नातक तह इन्जिनिरिङ्ग विषयहरुको पठनपाठनकोलागि भवन निर्माण गर्न सम्पूर्ण रकम खर्चिने निर्णय गरेको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्वर १ का सांसद डा.सुर्यनारायण यादवको अध्यक्षतामा सम्पन्न वैठकले कञ्चनरुप नगरपालिका अन्तर्गत कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका हात्ती लगायत वन्यजन्तुबाट हुने जनक्षतिको क्षति रोक्न विपद् जोखिम न्यूनिकरणको लागि सप्तकोशी नगरपालिकादेखि कञ्चनरुप नगरपालिका हुँदै हनुमाननगर नगरपालिकासम्म आरक्षित सीमा क्षेत्रमा आरसीसी वाउण्ड्रि वाल निर्माण गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सप्तकोशी नगरपालिका अन्तर्गत कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका हात्ती लगायत वन्यजन्तुबाट जनधनको क्षति रोक्न विपद् जोखिम न्यूनिकरणकोलागि सप्तकोशी नगरपालिकादेखि कञ्चनरुप नगरपालिका हुँदै हनुमाननगर नगरपालिकासम्म आरक्षित सीमा क्षेत्रमा आरसीसी वाउण्ड्री वाल निर्मार्ण गर्न समेत ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।
राष्ट्रिय
अधिकांश बजेट मठ–मन्दिरमै
सप्तरी क्षेत्र नम्वर ३ र ४ को संसदीय क्षेत्र विकास कोष