राजविराज, १० मंसिर । खाँडो नदी नियन्त्रण आयोजनाले काम थालेको चार वर्षबढी भईसकेको छ । आयोजनाले चार वर्ष वित्दा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो भईरहँदा ठेकेदार कम्पनीले मनलाग्दी काम गर्ने गरेको पाइएको छ ।
खाँडो नदी नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०७२÷०७३ मा छुट्टै आयोजना सञ्चालनमा ल्याएको छ । तर, आयोजनाले निर्माणधिन योजनाहरुमा रेखदेख गर्नेतर्फ ध्यान नदिँदा ठेकेदार कम्पनीले मनलाग्दी काम गर्ने गरेको स्थानीयहरुको गुनासो छ । सोही आयोजना अन्तर्गत राजविराज नगरपालिका नम्वर १० विरौलस्थित नदी नियन्त्रण कार्य अपारदर्शी र अव्यवस्थित रुपमा भईरहेको छ ।
योजनाहरु निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होडिङ्ग बोर्ड (निर्माणधिन योजनाको विस्तृत जानकारीसहितको पाटी) राख्नुपर्ने कानूनी प्रावधान छ । तर सो स्थानमा होडिङ्ग बोर्ड पनि राखिएको छैन भने निर्माण कार्यको गुणस्तरीयतामा समेत ध्यान दिएको छैन ।
‘महिनौंदेखि यहाँ नदी नियन्त्रणको कार्य भईरहेको छ, तर के–कतिको योजना छ? कुन निर्माण कम्पनी वा उपभोक्ता समितिले कार्य गर्दैछ भन्ने विषयमा कसैले जानकारी नै दिँदैन्’ स्थानीय देवराम यादवले भने–‘नदी नियन्त्रणको कार्य लथालिङ्ग छ ।’
सो योजनामा अव्यवस्थित रुपमा माटोको काम भईरहेको छ भने क्रेटिङ्गमा ढुङ्गाको साइज समेत मिलेको छैन् । क्रेटिङ्गमा राखिएको ढुङ्गा साना साना भएकाले बाढीको बेला पानीको वेगले वग्नेसक्ने अवस्था देखिएको यादवले गुनासो गरे । नदी नियन्त्रणमा प्रयोग गरिएको जीओ ब्यागको अवस्था पनि अस्तव्यस्त रहेको स्थानीयहरुको भनाई छ । काष्ठमण्डप निर्माण सेवा काठमाण्डौंले ठेक्का कबोल गरेपनि अधिकांश काम भने पेटी ठेकेदारबाट हुने गरेको पाइएको छ ।
खाँडो नदी नियन्त्रण आयोजना राजविराजका प्रमुख रेवाकान्त यादवले सो ठाउँमा भर्खरै नदी नियन्त्रणको काम सुरु गरिएको बताए । ‘ठेकेदारलाई अनिवार्य रुपमा होडिङ्ग बोर्ड राख्न भनेकै छु’ उनले भने–‘तथापी राखेको छैन भन्ने तत्काल राख्न लगाउँछु ।’
राष्ट्रिय
खाँडो नदीमा ठेकेदारको मनलाग्दी काम
सम्वन्धित निकाय वेखबर