• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाजवादी पार्टी गजेन्द्रबाबुकै लाइनमाः नेता महतो

समाजवादी पार्टी गजेन्द्रबाबुकै लाइनमाः नेता महतो

राजविराज, ८ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफुहरु सरकारमा जाने कुरा हावादारी रहेको भन्दै सशक्त राष्ट्रिय आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटीमा आइतवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । राजपा सरकारमा जाने विषय हावादारी रहेको बताउँदै उनले भने ‘राजपा सरकारमा जाने कुरा हावादारी हो, ओली नेतृत्वको सरकारमा जाने होइन, संघर्ष गर्ने हो, हामी हिमाल, पहाड र तराईका लोकतान्त्रिक पहिचानवादी पार्टीहरुसँग एकता गरी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने तयारीमा छौं ।’
समाजवादी पार्टी लगायतका राजनीतिक शक्तिहरुसँग एकताकालागि पहल भईरहेको दावी गर्दै संयोजक महतोले समाजवादीका अधिकांश नेताहरु सरकार छाड्ने निष्कर्शमा रहेको तथा पार्टीका नेताहरुसँग एकताकालागि वार्ता चलिरहेको बताए । ‘सँगै मधेशी जनताको अधिकारकालागि लडेको समाजवादी पार्टीले अब पनि सरकारमा अपमान सहेर बस्नु दुर्भाग्यपूर्ण हुनेछ’ उनले भने ‘समाजवादी पार्टी सरकार छाडेर आयो भने तत्काल हाम्रो एकता हुन्छ र निर्णायक राष्ट्रिय आन्दोलन हुन्छ ।’
समाजवादी पार्टी मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्रनारायण सिंहकै पथमा अगाडि बढ्नु आफुहरुकालागि खुशीको कुरा भएको उनले बताए । ‘समाजवादी पार्टी अहिले गजेन्द्रबाबुकै लाइनमा अगाडि बढेको छ, तत्कालिन सद्भावना पार्टीको चुनाव चिन्ह पञ्जा छाप पाएको छ, सम्वोधनको नारा पनि जय मातृभूमी नै तय गरेको छ’ नेता महतोले भने ‘सरकारमा जानु अघि समाजवादीसँग दुई बुँदे सम्झौता भएको थियो, त्यो विषयमा अहिलेसम्म केही भएको छैन, यस्तो अवस्था सरकारमा बसिरहनुको औचित्य पनि छैन, आम जनता आन्दोलनबाटै अधिकारप्राप्तिकालागि संघर्ष गर्ने निष्कर्शमा छन् ।’
चुनावी सभामा सप्तरी क्षेत्र नम्वर ३ का सांसद चन्द्रकान्त चौधरी, राजपाका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष कुमार समुन, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, महासचिव जयप्रकाश ठाकुर, प्रवक्ता एवम् महासचिव केशव झा, सह–महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद यादव, दिनेश कुमार यादव, दिपेन्द्र प्रसाद चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव ‘केसी’, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डल, वडा अध्यक्ष पदका प्रत्यासी प्रमिला यादव लगायतले मन्तव्य व्यक्त गरे ।
मत परिणामलाई आ–आफ्नो पक्षमा पार्न नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पाटी, जनमत, नेपाल लोकतान्त्रिक लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरु प्रचार–प्रसारमा जुटेका छन् ।