राजविराज, ८ मंसिर । विभिन्न मागहरु राखेर सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयको मूलद्वारमा रिले अनशनमा बसेकाहरुको आन्दोलनप्रति राष्ट्रिय जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।
राजपाको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहितका केन्द्रिय नेताहरु अनशन स्थलमै पुगेर उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । विद्यालय व्यवस्थापन समितिका सदस्य रामनारायण यादव, संजिव कुमार यादवसहित स्थानीय अभिभावकहरुले गत बुधबारदेखि रिले अनशनलाई निरन्तरता दिएका छन् ।
अनशन स्थल पुगेर नेता महतोले विद्यालय व्यवस्थापन समितिका केही सदस्य एवम् अभिभावकहरुले राखेका जायज मागलाई अविलम्ब सम्वोधन गर्न आग्रह गरेका छन् । अनसनरत पक्षका मागहरु सकारात्मक एवम् विद्यालय तथा शैक्षिक सुधारको पक्षमा रहे पनि सम्वन्धित पक्षले वेवास्ता गरेकोप्रति उनले दुःख समेत व्यक्त गरेका छन् ।
अनसन स्थलमा चुनावी सभामा सप्तरी क्षेत्र नम्वर ३ का सांसद चन्द्रकान्त चौधरी, राजपाका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष कुमार समुन, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, महासचिव जयप्रकाश ठाकुर, प्रवक्ता एवम् महासचिव केशव झा, सह–महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद यादव, दिनेश कुमार यादव, दिपेन्द्र प्रसाद चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव ‘केसी’,लगायतका नेताहरु पुगेको जनाईएको छ ।
सामाजिक लेखा समितिले वेरुजु ठहर गरेको १ करोड ८१ लाख रुपैया अविलम्ब फर्छयौट गर्नुपर्ने, अभिभावक भेला बोलाउनुपर्ने, शिक्षक छनोट समितिको कार्यविधि पारदर्शी गर्नुपर्ने र विद्यालय व्यवस्थापन समितिको बहुमत सदस्यहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने, बोर्डिङ्ग स्कूलका विद्यार्थी भर्ना बन्द गर्नुपर्ने, पठन–पाठनलाई नियमित एवम् व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनरत छन् ।