• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वृद्ध दम्पति हत्या घटना अझै रहस्यमय

आठ महिना वितिसक्दा पनि हत्यारा पत्ता लागेन
वृद्ध दम्पति हत्या घटना अझै रहस्यमय

राजविराज, ०५ मंसिर । गत फागुनको दोश्रो साता सप्तरीको खडक नगरपालिका वडा नम्वर ५ खर्चुहिया बजारमा भएको वृद्ध दम्पति हत्यामा संलग्न अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको छ ।
लोकमार्गसँगै जोडिएको बजारमा गत फागुन १३ गते सोमवार राति घरमै सुतिरहेका ७५ वर्षीय सुवरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनी देवी साहलाई जलाएर हत्या भयो । घटना अनुसन्धानका क्रममा शंका लागेका दर्जनौं व्यक्तिसँग सोधपुछ गरिसकेको प्रहरीले जनाएको छ । तर घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन अझै ठोस आधार पत्ता लागेको छैन् ।
‘प्रदेश प्रहरी कार्यालय तथा अनुसन्धान ब्यूरोले समेत घटनाको अनुसन्धान गरिरहेको छ’ सप्तरीका एसपी कृष्ण प्रसाईंले भने–‘जटिल प्रकृतिका घटना रहेकोले केही समय लागेपनि अब भने धेरै समय लाग्ने अवस्था छैन् ।’ हत्या घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका केही पाटो मात्रै बाँकी रहेको एसपी प्रसाईंले बताए ।
फागुन १४ गते मंगलवार विहान अबेरसम्म वृद्ध दम्पति घरको मुल ढोका बन्द नै देखेपछि स्थानीयहरुलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । सोही लगत्तै पुगेका प्रहरीले मुल ढोका तोडेर भित्र प्रवेश गरेपछि वृद्ध दम्पतिलाई आफ्नै कोठामा जलाएर हत्या गरिएको प्रहरीले पुष्टि गरेका थिए ।
वृद्ध दम्पतिको शरीर पूर्ण रुपमा जलिसकेकोले घटनास्थलबाट प्रहरीले कंकाल संकलन गरेर डिएनए परीक्षणकालागि पठाए । र, हत्यारालाई कानूनी दायरामा ल्याउन प्रदेश प्रहरी कार्यालय जनकपुरको ब्युरो अनुसन्धान टोली, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेन्सिक टिम र जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुरले तालिम प्राप्त कुकुरको सहायताले सुक्ष्म अनुसन्धान सुरु गरे ।
सोही क्रममा प्रदेश प्रहरी कार्यालयबाट ५ तथा जिल्ला प्रहरी कार्यालयबाट ५ गरी १० जनाको विशेष टोलीले इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका थप २० जना सुरक्षाकर्मीको टोली लिएर केहि सातासम्म घटनास्थलमै बसेर अनुसन्धान गरे । शंकास्पद व्यक्तिलाई सोधपुछ, कतिपय स्थानमा खानतलासी, कल डिटेल चेक लगायत अनुसन्धानका धेरै पाटोमा प्रहरीले सक्रियताका साथ काम गरे । तर, हत्या भएको ८ महिना वितिसक्दा पनि घटना रहस्यमय बनेको छ ।
जघन्य अपराधका घटनामा पनि संलग्नलाई प्रहरीले ८ महिनासम्म पत्ता लगाउन नसक्नु दुखद विषय रहेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।