• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

फोहोरमा फालिने सामग्रीबाट आकर्षक सामान बनाउँदै महिलाहरु

फोहोरमा फालिने सामग्रीबाट आकर्षक सामान बनाउँदै महिलाहरु

राजविराज, ४ मंसिर । सप्तरी जिल्लाको नगरदेखि गाउँसम्म फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको अवस्थामा सप्तरीको ग्रामिण भेगका महिलाहरु फोहोरमा फालिने सामग्रीहरुबाट आकर्षक सामानहरु बनाउन थालेका छन् ।
सबैको लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत एसएनभी नेपालको समन्वयमा सबल नेपालले ग्रामिण महिलाहरुलाई फोहोरमा फालिने सामग्रीहरुलाई पुनः प्रयोगमा ल्याउन सिकाएका हुन् । पुर्ण सरसफाइ उन्मुख टोलहरुकालागि प्लाष्टिक तथा ठोस फोहोरको पुनः प्रयोग सम्वन्धी उनीहरुलाई तीन दिने तालिम दिएका हुन् । तालिम पश्चात ती महिलाहरुले बोराबाट माला, पानीको बोतल लगायत प्लाष्टिकजन्य सामग्रीबाट गुलदस्ता, कलश, घर सजावटका सामान, पुरानो सारीबाट चकटी, गद्दा इत्यादी बनाउन सिकेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ बरही बिरपुर, विष्णुपुर गाउँपालिका वडा नम्वर ६ गोरगामा रंजितपुर र खडक नगरपालिकाका ३० जना महिलालाई प्लाष्टिक तथा ठोस फोहोरको पुनः प्रयोग सम्वन्धी तालिम दिईएको सबल नेपालका सरसफाई अभियन्ता प्रमेश्वर झाले जानकारी दिए । टाढाटाढाबाट समयमै नेपाल पत्रकार महासंघ सप्तरीका सभाहलमा आयोजित तालिममा सहभागिता जनाएर एकदमै रुचीका साथ सीप सिकेको उनले बताए ।
महिलाहरुको सिकाईप्रतिको रुची देखेर आफु अत्यन्तै प्रभावित भएको तालिमका प्रमुख प्रशिक्षक सिवेन्द्र प्रकाश पोखरेलले बताए । घर तथा गाउँ–टोल सरसफाईमा महिलाहरुको उल्लेखनीय भूमिका रहने गरेकोले प्रशिक्षित महिलाहरुले पूर्ण सरसफाईमा महत्वपूर्ण योगदान दिनेमा आफु आशावादी रहेको उनले जानकारी दिए ।
सबल नेपालकी अध्यक्ष जुना गिरीको अध्यक्षता तथा भवन डिभिजनका प्रमुख शैलेश कुमार झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । एसएनभी नेपालका कृष्ण जिसी, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला समन्वय समितिका सचिव नवराज खडका, चर्चित गायिका अन्जु यादव, छिन्नमस्ता गाउँपालिका १ का वडा अध्यक्ष विनोद कुमार यादव, विष्णुपुर गाउँपालिका ६ गोरगामाका वडा अध्यक्ष बहादुर सदा, वडा सदस्य रामकुमार राय, प्रशिक्षकहरु सङ्गीता पोखरेल, अनिता यादव, दिपा राय, किरण राय, सरसफाई अभियन्ता देवेश चौधरी लगायतले महिलाहरुको लगनशिलताप्रति प्रसंशा गरेका छन् ।