राजविराज, ३० कार्तिक । १२ वर्षअघि खरिद गरेको जग्गा खाली गर्न छिमेकीले दवाव दिन थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ गोविन्दपुरका एक परिवारलाई घरविहिन हुने चिन्ताले पिरोलेको छ ।
समस्या लिएर चारैतिर भौतारिदाँ समेत सुनुवाई नभएपछि न्याय खोज्दै शनिवार राजविराज आएका ७० वर्षीय रेशम साहले न्यायकालागि पहल गरिदिन हुन सवैमा आग्रह गरेका छन् । ‘चारैतिर भौतारिदाँ पनि कसैले वास्ता गरेन्’ उनले भने–‘बाध्य भएर न्याय गुहार्न सदरमुकाम आउनुप¥यो ।’
उनका अनुसार ०६४ जेष्ठ २४ गते सोही ठाउँकी फुलो देवी सुतिहार्नीसँग ७ धुर जग्गा खरिद गरे । कित्ता नम्वर ४६५ को जग्गा खरिद गरेसँगै सो जग्गामा एउटा झुपडी बनाएर सुखभोग गर्न थाले, तर १२ वर्षपछि आएर छिमेकीले अचानक जग्गा खाली गर्न दवाव दिन थालेपछि आफ्नो परिवारमा चिन्ता थपिएको उनले बताए ।
‘छिमेकी रामचन्द्र यादवले उक्त जग्गा आफ्नो रहेको भन्दै धाकधम्की समेत दिन थालेका छन्’ जग्गाको कागजपत्र समेत देखाउँदै साहले भने–‘धाकधम्कीले आफु र आफ्ना परिवारका सदस्यले असुरक्षित महसुस गर्न थालेपछि न्याय गुहार्ने बाध्यता परेको छ ।’
उनले शान्ति सुरक्षाको माग गर्दै स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्ममा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको गुनासो गरे । ‘वडास्तरमा दर्जनौं पटक जानकारी गराए, त्यहाँ नसुनेपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन पनि चढाए’ उनले भने–‘तर, निवेदन चढाएको साता दिन वित्न लाग्दा समेत प्रहरीले तदारुकता देखाएन् ।’
उनले जग्गा धनी भएको सवै प्रमाण हुँदाहुँदै पनि आफ्नै जग्गामा सुरक्षित साथ बस्ने वातावरण मिलाई सवैमा आग्रह गरे । यता, रामचन्द्र यादवले दुई महिनाअघि मात्रै गरिएको नापी (सर्वे) ले उक्त जग्गा आफ्नो रहेको थाहा पाएको बताए ।
साह परिवारले सुखभोग गर्दै आएको जग्गा मसँग लालपुर्जा रहेको कित्ता नम्वर ६२२ मा परेको छ, त्यसैले सो जग्गा मेरो हो, उनले भने ।