राजविराज, २९ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत राजीव झालाई दुई महिनामै सरुवा गरेको भन्दै सघर्षशील विकास प्रेमी तिलाठी कोइलाडी गाउँपालिकावासीले शुक्रवार विरोध प्रदर्शन गरेका छन् ।
गाउँपालिकाको बजेट दुरुपयोग गर्न इमान्दार कर्मचारीलाई सरुवा गरेको उनीहरुको आरोप छ । ‘सबै मिलिजुली भ्रष्टाचारलाई मलजल गर्न खोजेको छ, त्यसैले एउटा इमान्दार कर्मचारीलाई रकमी सरुवा गरेको हो’ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीका उपाध्यक्ष समेत रहेका स्थानीय निरज मुक्तिद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ–‘सो कार्यलाई हामी भत्र्सना गर्दछौं ।’
उनले सरुवा बदर गरी अधिकृतको पुनःवहाली हुनुपर्ने माग समेत गरे । जिवछलाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय अरुण मण्डल, राप्रपा संयुक्त सह उपाध्यक्ष निशान सिंह, राजपाका नेता गुड्डु सिंह, नेकपाका नेता मुकेश यादव लगायतले अधिकृतको सरुवा बदर हुनुपर्ने, तलब भत्ता वितरण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने, गाउँपालिकाको बजेट सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।