राजविराज, २९ कात्तिक । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १० बिरौलमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ पठाएको छ ।
प्रतिष्ठान अन्तर्गतको अस्पतालकालागि ओपीडी भवन र प्रतिष्ठानको डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गर्नकालागि मन्त्रालयले सो रकम उपलब्ध गराएको हो । प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका सचिव डा.संजयकुमार ठाकुरका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा ओपीडी भवन निर्माण तथा प्रतिष्ठानको डिपीआरमा खर्चिनकालागि खातामा रकम पठाएको छ ।
समितिको वैठकले उक्त रकमबाट ओपीडी भवन निर्माण गर्न दुई साताभित्रै टेन्डर आह्वान गरिसक्ने निर्णय समेत गरेको उनले बताए । ‘प्रस्तावित जग्गामा दुई वर्षभित्रै डिपीआरको सम्पूर्ण कार्य गरिसक्नुपर्ने छ’ डा.ठाकुरले भने–‘हाल प्रतिष्ठानको भौतिक संरचना निर्माण हुने स्थानको जग्गा सम्वन्धि फायल प्रक्रियामै रहेकोले उक्त कार्य तत्कालै अगाडि बढाउन सक्ने अवस्था छैन् ।’ जग्गाको विषयमा चाँडै पहल भएर समाधान भए डिपीआरको काम अगाडि बढाउन सहज हुने उनले बताए ।
समितिको पूर्णता
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको निमित्त अध्यक्षमा टिचिङ्ग हँस्पिटल काठमाडौंमा कार्यरत अर्थोपेडिक डा.रोहितकुमार पोखरेललाई जिम्मेवारी तोकेको छ । यसअघि निमित्त अध्यक्षको जिम्मेवारीमा रहेका डा.सुबोध अधिकारीले कार्य व्यस्तताको कारण देखाउँदै असमर्थता जनाएपछि सप्तरी निवासी समेत रहेका पोखरेललाई कार्यभार दिइएको समितिका सचिव डा.ठाकुरले जानकारी दिएका छन् ।
उनकाअनुसार समितिको अध्यक्षकालागि मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नुपर्ने भएकोले हाललाई प्रतिष्ठानको कामकाज गर्नेगरी स्वास्थ्य मन्त्रालयले पोखरेललाई जिम्मेवारी दिइएको हो । कुल १० सदस्यीय समिति रहने प्रतिष्ठान पूर्वाधार विकास समितिको सदस्यहरुमा प्राडा भगवान कोइराला र डा. मिथिलेश सिंहलाई चयन गरिएको छ ।
यसैगरी, पदेन सदस्यहरुमा अर्थ मन्त्रलायका सह सचिव थानेश्वर गौत्तम, शिक्षा मन्त्रालयका सह सचिव हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सह सचिव डा.विकास देवकोटा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव रहेका छन् । प्रतिष्ठानका सदस्य सचिवमा भने यसअघि नै डा. ठाकुरलाई जिम्मेवारी तोकेर कामकाजका लागि पठाएको थियो ।
राष्ट्रिय
प्रतिष्ठानको ओपीडी भवन र डिपीआरकालागि ३० करोड, अझैं टुङ्गो लागेन जग्गाको विषय
पूर्वाधार तयारी विकास समितिको निमित्त अध्यक्षमा पोखरेल