Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको आग्रह

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको आग्रह

राजविराज, २६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नम्वर २ को धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित हारसरको जिवन केन्द्रमा सोमवार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश–२ सरकारले प्रदेश सभामा टेबुल गरेको सञ्चार विधेयकमा गरिएको प्रबन्धमा संशोधन गर्ने सरकारी प्रतिबद्धता आए पनि त्यसको बिश्वासयोग्य वातावरण सरकारले बनाउन नसकेको ठहर गरेको छ । प्रस्तावित मस्यौदामा गरिएका प्रबन्धमा नेपाल पत्रकार महासंघ सहमत हुने ठाउँ नदेखिएको भन्दै आफुहरुको सुझाव समेत समाविष्ट नगरिएकोप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभामा टेवुल गरिएको सञ्चार विधेयक फिर्ता लिन बैठकले माग गरेको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ बारा शाखामा देखिएको समस्या समाधानकालागि महासचिव किरणकुमार कर्णको संयोजकत्व र सदस्यमा सचिव आरएन विश्वास र अजयकुमार साह रहेको एक छानविन समिति गठन गरेको छ । सदस्यता नविकरण सम्बन्धमा प्रदेश नम्बर २ को ८ वटै जिल्ला शाखालाई १५ दिन भित्रमा सदस्यता नविकरण गरि सक्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
सदस्यता शुद्धिकरणकालागि ८ वटै जिल्लामा अभियान सञ्चालनकालागि शाखा अध्यक्षसँगको समन्वयमा शुद्धिकरण सम्बन्धी काम अगाडि बढाइने निर्णय गरेको छ । पर्सामा किरण कर्ण र जीतलाल श्रेष्ठ, बारामा प्रवीण साह र शैलेन्द्र झा, रौतहटमा अजय कुमार साह र अजित सिंह, सर्लाहीमा आरएन बिश्वास र राजन सिंह, महोत्तरीमा रिन्कु मिश्र, हदिश खुद्दार, धनुषामा ललिता साह, सिराहामा गुरु प्रसाद गौतम र जगत राई, सप्तरीमा सीकेन्द्र पासवान र भोजराज भट्टराईलाई जिम्मेवारी तोकिएको महासंघ प्रादेशिक समितिका महासचिव किरण कुमार कर्णले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।