• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधानले प्रदेशलाई त्रिशंकु बनाईदिएको छः अध्यक्ष यादव

प्रदेश सरकारले भर्ना गर्ने कर्मचारीमा पचास प्रतिशत महिलाः मुख्यमन्त्री
संविधानले प्रदेशलाई त्रिशंकु बनाईदिएको छः अध्यक्ष यादव

राजविराज, १३ कार्तिक । उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले प्रदेशलाई त्रिशंकु बनाईदिएको आरोप लगाउँदै अधिकारसम्पन्न नबनाएसम्म संघीयता मजबुत हुन नसक्ने बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका स्थित झहुरा चौकमा समाजवादी पार्टीद्वारा बुधबार आयोजित शुभकामना आदान–प्रदान एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । देशमा संघीयता आए पनि अझैं पनि अधिकार सिंहदरबारमै केन्द्रित रहेको बताउँदै उनले भने ‘वर्तमान संविधानले प्रदेशलाई त्रिशंकु बनाईदिएको छ, अधिकारसम्पन्न नबनाएसम्म संघीयता मजबुत हुन सक्दैन ।’
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उप–प्रधानमन्त्री यादवलेसाधन श्रोतमाथिको अधिकार दिए मात्र शक्तिशाली एवम् समृद्ध संघीयता स्थापित हुने बताए । प्रदेशलाई अधिकार नदिएका कारण प्रदेश सरकारले चाहेर पनि केही गर्न नसकिरहेको अवस्था रहेको चर्चा गर्दै उनले भने ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउँदै स्थानीय तहहरुलाई प्रदेश मातहतमै राख्नुपर्छ ।’
प्रमुख अतिथि यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न संघर्ष अझैं जारी रहेको बताउँदै प्रतिक्रियावादी शक्तिहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध षडयन्त्र गरिरहेकोले त्यसलाई विफल पारेर अगाडि बढ्ने बताए । मधेशको विकासप्रति सिंहदरबारको दृष्टि पूर्वाग्रही रहेको भन्दै अझैं अपेक्षाकृत बजेट दिन कन्जुस्याइँ गरिरहेको अध्यक्ष यादवको भनाई थियो ।
मधेशको शिक्षा अझैं सुदृढ नभईसकेको अवस्था रहेकोले विद्यालयहरुको पठन–पाठन तथा विद्यार्थीहरुको निगरानी गर्न शिक्षक तथा अभिभावकहरुले विशेष निगरानी गर्नुपर्नेमा उनले जोड दिए । होनहार यूवाहरु वैदेशिक रोजगारीमा पलायन भईरहेको तथा केही यूवाहरु लागु औषध, दुव्र्यसनीको शिकार भईरहेको बताउँदै उनले भने ‘मद्यपान, लागु औषध लगायतका नशा सेवनबाट यूवाहरुलाई बचाएर अध्यन–अध्यापनमा आकर्षित गर्नु जरुरी छ ।’ मधेशका यूवाहरुको अवस्थाप्रति आफु गम्भीर रहेको भन्दै यूवा लक्षित कार्यक्रमहरु कार्यक्रम समेत सञ्चालन गरेर उनीहरुलाई आत्मनिर्भर बनाईने उप–प्रधानमन्त्री यादवले बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग गठन भईसकेकोले स्थानीय तहहरुमा कर्मचारीको पदपूर्ती गरिने तयारी भईरहेको बताए । प्रदेश सरकारले कर्मचारी भर्ना लगायतमा पचास प्रतिशत महिला सहभागिता सुनिश्चितता गरिने बताउँदै उनले भने ‘मधेशका छोरीहरुलाई आत्मनिर्भर बनाउन तथा हरेक क्षेत्रमा सम्मानजनक सहभागिता बढाउन प्रदेश सरकारले छोरी विमा, साइकल वितरण, आत्मरक्षा सीप, लोकसेवा तयारी कक्षा, छात्रवृतीका साथै रोजगारीमा समेत पचास प्रतिशतको सुनिश्चितता गर्न लागेका छौं ।’
आ–आफ्ना छोराछोरीलाई स्कूल पठाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का छोरीहरु अब आफुलाई पहिलाको जस्तो कमजोर महशुस गर्ने अवस्थाको अन्त्य हुन लागेको उनले बताए । प्रदेश सरकार योजना तहत अगाडि बढिरहेको जानकारी दिँदै उनले भने ‘तपाईहरु छोरीलाई राम्रो शिक्षा दिनुस्, अबको १५ वर्षभित्र मधेशका छोरीहरु सिडिओ, एसपी, योजना प्रमुख लगायत उच्च स्थानमा पुगेको हेर्न पाईनेछ ।’
कार्यक्रममा समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शिक्षा मन्त्री रेणु कुमारी यादवले मधेश आन्दोलनको जगमा देशमा संघीयता स्थापित भएको बताउँदै यसलाई जोगाउनुपर्ने बताए । ठूला पार्टीहरुको एजेण्डा संघीयता नरहेको चर्चा गर्दै उनले भनिन् ‘नेपाली कांग्रेस, नेकपा लगायतका पार्टीहरुको एजेण्डा संघीयता थिएन, त्यसैले ती पार्टीहरुले संघीयतालाई असफल पार्ने षडयन्त्र गरिरहेको छ, तर त्यो कुरा दिवास्वप्न मात्रै हुनेछ ।’
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको समृद्धिको मूल आधार कृषि, उद्योग र पर्यटन भएकोले सोही अनुसार प्रदेश सरकार विकास र समृद्धि अभियानमा अगाडि बढेको बताए । प्रदेशका किसानहरुलाई सिंचाई, मलखाद, बीउविजन तथा कृषिजन्य आधुनिक उपकरण उपलब्ध गराउने कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाएको उनले जानकारी दिए ।
रामप्रसाद मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा लौकही प्रखण्डका प्रमुख रामकुमार यादव, पार्टीका केन्द्रीय सदस्य राधेश्याम पण्डित, नवप्रवेशी नेता सुरेन्द्र प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गरे । यूवा नेता लक्ष्मण यादवद्वारा सञ्चालित कार्यक्रममा सुरेन्द्र प्रसाद यादवको नेतृत्वमा करिब एक हजार पाँच सय नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री यादव, मुख्यमन्त्री राउत लगायतले अबीर र माला लगाएर स्वागत गरेका छन् ।
यसैगरी बुधबारै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेता सकिल अलिको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीका नगरपालिका अध्यक्ष दिपेन्द्र माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथि पार्टी अध्यक्ष एवम् उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलगायतले टिका र माला लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादव, प्रदेश सभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समिति का मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव, जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, जिल्ला अध्यक्ष केदार यादव, युसुफ अलि लगायतका नेताहरुको उपस्थिति थियो ।