राजविराज, १३ कात्र्तिक । सप्तरीमा बँदेलको शिकार गर्न छिमेकीहरुसँग जङ्गल गएका एक युवक मृत अवस्थामा भेटिएको छ ।
त्रियुगा नदीको किनारमा गाडिएको अवस्थामा कञ्चनरुप नगरपालिका वडा नम्वर ५ प्रिपाका २३ वर्षीय अजयकुमार मुखियाको शव बरामद गरिएको छ । मुखियाको हत्या भएको भन्दै परिवारजनले गरेको जाहिरीको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई बुधवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । मुखियासँगै बदेलको शिकार गर्न जङ्गल पुगेका सोही ठाउँका श्रीलाल सरदार र बबरी भन्ने रमेश सरदारलाई पक्राउ गरेको हो ।
करेन्ट लगाएर बदेल मार्ने क्रममा मुखियाको करेन्ट लागेर मृत्यु भएको पक्राउ परेकाहरुले वयान दिएपनि घटनास्थलबाट बरामद भएको रौं र रगत परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला तथा शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।
मुखियाको मृत्यु भएपछि संलग्न व्यक्तिहरुले घटना दवाउने मनसायले नदीमा गाडिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको पत्रकार सम्मेलनमा एसपी कृष्ण प्रसाईंले बताउनुभयो । कात्र्तिक १ गते भएको घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले थप अनुसन्धान भईरहेको जनाएको छ ।