जनकपुरधाम, ८ कार्तिक । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
धनुषाको मुखियापट्टी मिथिला विहारी नगरपालिकाको जगरुप साह रामपुकार साह माध्यमिक विद्यालय परशुराम तलाउ र गंगा प्रसाद प्राविधिक माध्यमिक विद्यालय ठेरामा आयोजित साइकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढेको बताए ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाएको उल्लेख गरे । छोरीहरु शिक्षित र समक्ष भईसकेपछि उनीहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गरे । मुख्यमन्त्री राउतले अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्ने दावी गरे ।
प्राविधिक शिक्षा बिना प्रदेश समृद्ध हुन नसक्ने उल्लेख गर्दै उनले संविधानले प्रदत गरेको प्राविधिक र उच्च शिक्षा दिने प्रदेश सरकारको अधिकारलाई स्थापित गराउन प्रदेश सरकार छिट्टै प्राविधिक शिक्षा ऐन ल्याउन लागेको र त्यस पछि सामुदायिक विद्यालयहरुमा आवश्यकताको आधारमा प्राविधिक शिक्षाको अनुमति प्रदान गर्ने बताए । दुवै विद्यालयमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, चमेली देवी दास, समाजवादीपार्टीका केन्द्रीय सदस्य महाजन यादव सहितको उपस्थिति रहेको थियो ।
साइकल वितरण कार्यक्रममा जगरुप साह रामपुकार साह माध्यमिक परशुराम तलाउमा कक्षा ८ मा अध्ययनरत ६० र गंगा प्रसाद प्राविधिक माध्यमिक विद्यालय ठेरामा कक्षा ८ मा अध्ययनरत ७३ छात्रालाई साइकल वितरण गरिएको छ ।