राजविराज, ०७ कार्त्तिक । पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतिलाई सप्तरी प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
बलान विहुल गाउँपालिका वडा नम्वर ३ की रिंकु कुमारी भनिने २० वर्षीया रंजनकुमारी पासवानलाई भारत विहार राज्यको पूर्णिया जिल्ला स्थित अल्पावास गृहबाट उद्दार गरी परिवारको जिम्मा लगाएका हुन् । प्रहरीका अनुसार रंजन पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेकोमा ०७४ वैशाख १० गतेदेखि अल्पाबास गृहमा रहदै आएकी थिइन् ।
‘सोर्ट स्टे होम पूर्णिया विहार’ मार्फत राजदुतावास हुँदै प्रहरी प्रधान कार्यालयको सचिवालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा प्राप्त भएको पत्रमा उल्लेखित विवरणको आधारमा युवतिलाई पुर्नस्थापनाको लागि उद्धार गरी आमा घुरनीदेवी पासवानको जिम्मा लगाएको जनाएको छ ।