राजविराज, ०६ कात्र्तिक । चाडपर्वलाई लक्षित गरी सप्तरी प्रहरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । झैं–झगडा, चोरी–डकैती, कुटपिट, चन्दा संकलन लगायत चाडपर्वको बेला हुनसक्ने अपराधिक घटनाहरु नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो । तर, सप्तरी सदरमुकाम राजविराजसहितका बजारमा चाडपर्वलाई लक्षित गरेर चन्दा उठाउने समूहहरुमा भने कमी आएको छैन् ।
चाडपर्व नजिकिएसँगै युवाहरुले समूह बनाएर चन्दा उठाउन आउने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । राजविराज–६ का धर्मपाल राउतले पछिल्लो एक सातादेखि पूजापाठको नाममा चन्दा उठाउनेहरुबाट हैरान भएको बताए । ‘विहान उठ्ने वित्तिकै यूवाहरु आँगनमै आईपुग्छन्’ उनले भने–‘एउटा, दुईवटा समूह भए त समस्या हुदैनथ्यो, दैनिक तीन–चार वटा समूह आउन थालेपछि हैरान भएको छु ।’
उनले त्यसमा पनि रकम तोकेरै माग्न थालेपछि झन समस्या हुने गरेको बताए । ‘पूजापाठको नाममा २५÷५० रुपैयाँ लिए त आपत्ति थिएन्, तर २ सयभन्दा कम लिनै मान्दैनन्’ उनले थपे–‘समूहमा भएका कति युवाले त हजार नै दिनुपर्छ भनेर अडानै कसेर बसिहाल्छ ।’
बोदे बरसाइन नगरपालिका–३ का पप्पुकुमार यादवले घरबाट बाहिर निस्किदा समेत सवारी साधन घेरेरै चन्दा उठाउने गरेको गुनासो गरे । ‘आफ्नै परिवारको अगाडी बेइज्जत बोध हुने गरी चन्दा माग्न थालेपछि घरमा त दिनैपर्छ’ उनले भने–‘हुलाकी मार्ग हुँदै सदरमुकाम राजविराज लाग्दा पनि सडकमा ढाँट लगाएर मोटरसाइकल घेरेरै चन्दा माग्छन्, अब भन्नुस्–एउटा सर्वसाधारणले कति पटक चन्दा दिने?’
उनले चन्दाको प्रतिकार गर्न खोज्दा युवाहरुबाट अपशब्द सुन्नुपर्ने बाध्यता रहेकोले यसतर्फ सम्वन्धित निकायले ध्यान पु¥याउनुपर्ने माग गरे । ‘वर्षेनीको समस्या यस्तै हो, प्रहरीले विशेष सुरक्षा योजना ल्याउनु पनि नौलो कुरा होइन्, तर कार्यान्वयन खोई?’ उनले भने–‘सम्वन्धित निकायले गम्भिरतापूर्वक लिनुपर्ने हो ।’
सप्तरीका एसपी कृष्ण प्रसाईंले चन्दा उठाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन कडाईका साथ निगरानी गर्न मातहतका प्रहरी परिचालन गरिएको बताए । ‘आफु खुशी दिएपछि त कुरै सकियो, कसैले चन्दा उठाएको विषयमा उजुरी दिएकै छैन्’ उनले भने–‘उजुरी आए जुनसुकै व्यक्ति वा संस्थालाई कारवाही हुन्छ ।’
केही दिनअघि मात्रै बोदे बरसाइन नगरपालिका–१ मा सडकमै लगाइएको ढाट नियन्त्रणमा लिएको जानकारी गराउँदै एसपी प्रसाईंले त्यसरी चन्दा उठाउनेहरुमाथि पनि कडाईकासाथ निगरानी भईरहेको बताए । ‘सडकमा ढाट लगाएको पाइएमा संलग्न व्यक्तिलाई तत्काल कारवाही हुन्छ’, उनले भने ।
यस्तो छ कानूनी व्यवस्था
चन्दा ऐन २०३० को दफा १ अनुसार नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिएर धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिने बाहेक कुनै व्यक्ति, सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन पाउँदैन ।
ऐन अन्तर्गतका मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दाको शुरु कार्वाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुने उल्लेख छ । सोही ऐनमा त्यसो गरेको पाइएमा चन्दा उठाउनेलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने र उठाइएको चन्दाको रकम समेत सोही व्यक्तिबाट असूल उपर गरिने प्रावधान रहेको छ ।
राष्ट्रिय
सप्तरीमा चाडपर्व लक्षित चन्दा आतङ्क
‘सडकमै ढाट लगाएर थमाईन्छ रसिद’