• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

छैठौं मुरारी स्मृति पचशिल्ड फुटबल प्रतियोगिता शुरु

छैठौं मुरारी स्मृति पचशिल्ड फुटबल प्रतियोगिता शुरु

बृजमान तामाङ

बिरेन्द्र बजार, ५ कार्तिक । सप्तरीको महुलीमा मङ्गलवार छैठौं मुरारी स्मृति पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

अग्निसाईर कृष्णसवरन गाउँपालिका ६ वडा नम्बर खेलकुद उत्थान समितिद्वारा आयोजित प्रतियोगिताको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहको बीच उद्घाटन गरेका हुन् । आयोजक समितिका अध्यक्ष आरएन भुजेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोह गाउँपालिका उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ६ का अध्यक्ष कुसुम आचार्य, स्वर्गीय मुरारीका पिता मोहन घिमिरे लगायतका स्थानीय जनप्रतिनिधिहरु, विभिन्न पार्टीका पदाधिकारी, सञ्चारकर्मी समेतको उपस्थिति थियो ।

सप्तरीका चर्चित फुटबल खेलाडी मुरारी घिमिरेको स्मृतिमा विगत ६ वर्षदेखि सञ्चालित फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका गरि ८ वटा टिम सहभागी छन् ।  प्रतियोगितामा सिर्जनशील युवा क्लव धरान सुनसरी, एमएफसिबि मोहनपुर, मधुबनी यूवा क्लव झुम्का सुनसरी, प्रोगेसिल युथ क्लब बद्रुराहा सप्तरी, चौदण्डी गढी ८ बेल्टार, चौतारी यूवा क्लव, सिस्वारी, सि एफ एक्स चरनी चोक बसाहा उदयपुर र आयोजक टिम सहभागी छन् ।

उद्घाटन खेलमा सुनसरी धरानले मोहनपुरलाई ०–६ गोलले पराजित गरेको छ । धरानका खेलाडीले खेलको पहिलो हापमामा निरन्तर ६ गोल गरेर टिमलाई अग्रता कायम राख्दै जित हासिल गरे । दोस्रो दिन बुधबार झुम्का सुनसरी र बद्रुरावा सप्तरीको बिच हुने आयोजकले जनाएको छ ।

फुटबल खेलमा पहिचान बनाएका सप्तरी महुलीका स्वर्गीय घिमिरेको करेन्ट लागेर अल्पायुमै मृत्यु भएको थियो । मुरारी स्मृति फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र दोश्रो हुनेलाई १५ हजार नगर र शिल्ड प्रमाणपत्र, मेडल प्रदान गरिने जनाईएको छ ।

स्थानीय यूवा सरोज मगरद्वारा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष कुशुम आचार्यले स्वागत मन्तव्य व्यक्त गरिन् ।