बोेधराज सुवेदी
महुली, २७ असोज । दलित अधिकारकर्मी तथा अभियन्ता घुरन विश्वकर्माको शनिवार राति सडक दुर्घटनामा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार भई सिरहाबाट अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित घरतर्फ आउने क्रममा विपरित दिशावाट आउँदै गरेको ना ५ ख ६९६ नम्बरको बसले ठक्कर दिदाँ विश्वाकर्माको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका स्थित दुर्घटनामा गम्भिर घाइते भएका विश्वकर्माको उपचारकोलागि धरानतर्फ लैजाने क्रममा मृत्यु भएको परिवाजनले जनाएको छ । मृतक विश्वकर्माको पत्नी र दुुई छोरा तथा तीन छोरी छन् ।
आइतवार राति निजको पुर्खौली घर सितापुरमा दाहसंस्कार गरिएको गरिएको छ । यसअघि विश्वकर्माको पार्थिव शरीरमा विभिन्न राजनैतिक दलका नेता, दलित अधिकारकर्मी लगायतले फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे । यसैवीच नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलले विश्वकर्माको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान समेत व्यक्त गरे ।
विस २००५ सालमा जन्मिएका विश्वकर्माले आफ्नो जीवनकालमा दलित अधिकारकालागि लामो संघर्ष गर्नुको साथै किसान आन्दोलनको नेतृत्व गर्दै लामो समयसम्म अखिल नेपाल किसान संघको सगरमाथा अञ्चल सदस्यको जिम्मेवारी सम्मालेका थिए । त्यसैगरी तत्कालिन नेकपा एमालेको काठमाण्डौ, सप्तरी सम्पर्क मञ्चको सदस्य र हाल नेकपाको गाउँपालिका कमिटिको सल्लाहकार सदस्यको जिम्मेवारीमा रहेर काम गरेका थिए ।