• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शोकाकुल देव परिवारद्वारा न्यायकालागि अपील

राजविराज, २६ असोज । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–७ का चन्द्रनारायण देवसहित उनका परिवारजनले न्यायकालागि सम्वन्धित निकायसँग अपील गरेका छन् ।
राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आइतवार आयोजित पत्रकार सम्मेलन मार्फत देव परिवारले न्यायकालागि याचना गरेका हुन् । उनका परिवारमा एउटा घाउ पुरिन नपाउँदै अर्को बज्रपात थपिदैआएको छ ।
पछिल्लोपटक गत असोज १८ गते काठमाण्डौबाट राजविराजतर्फ आउँदै गरेको वस दुर्घटनामा परि चन्द्रनारायणकी २३ वर्षिय बहिनी लक्ष्मी देवको निधन भएको थियोे । सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित बीपी राजमार्गमा बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटना भएको थियो । काठमाण्डौ स्थित एक्मी इन्जिनियरिङ्ग कलेजमा सातौं सेमेस्टरमा अध्यययनरत वहिनीको निधनपछि उनको परिवार शोकमा डुबेको छ ।
यस अघि २०७२ असोज २९ गते उनका दाजु जितेन्द्रनारायण देवको हत्या भएको थियो । विष्णुपुर गाउँपालिका स्थित बरहीबीरपुरको नहर छेउमा शव फेला परेको थियो । सीएमए उतीर्ण यूवा जितेन्द्र त्यतिबेला मधेश आन्दोलनको समर्थनकासाथै संघर्षहरुमा सक्रिय सहभागिता जनाउँदैआएका थिए । २०७२ साल वैशाख १७ गते झापाको शिवगञ्ज निवासी विष्णुमाया देवसँग उनको विवाह भएको थियो । विहे भएको केही महिनामै आफ्ना पतिको हत्याभएपछि विष्णुमाया विक्षिप्त रहँदैआएकी थिईन् । पति वियोगको पीडा तथा ब्रेन ट्युमर भई उनको गतवर्ष कार्तिक १० मृत्यु भएको पत्रकार सम्मेलनमा चन्द्रनारायणले बताए ।
यसरी एकपछि अर्को बज्रपातको पीडा खेप्दैआएका देव परिवारमा इन्जिनियरिङ्ग अध्ययनरत लक्ष्मीको निधनले त पिरोलेको छ नै । दुर्घटना पश्चात शोकाकुल परिवारलाई कसैले सोधखोज नगरेको गुनासो गर्दै मृतकका दाजु चन्द्रनारायणले भने ‘काठमाण्डौ उपत्यका रुटमा चल्ने मिनी बस अनियन्त्रित भएर पल्टिएको हो, रुट परमिट नभएको बसलाई कसरी चल्न दिईयो ?’ अत्यन्तै सम्वेदनशिल बाटो नयाँ चालक तथा बिना रुट परमिट बस चलाएका कारण दुर्घटना भएकोले उक्त घटनाको निष्पक्ष छानबिन गरी बसका चालक, सञ्चालक समेतलाई कडा कार्वाही तथा पीडित परिवारले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउन उनले माग गरेका छन् ।
सुरक्षा चेकजाँच समेत कडाई रुपमा नहुनुले उक्त रुटमा दुर्घटना बढ्दैगएकोले त्यस विषयलाई गम्भिरतापूर्वक लिन चन्द्रनारायणले सम्वन्धित निकायसँग आग्रह गरेका छन् । पछिल्लोपटक अति जेहेन्दार, मृदुभाषी कुलको गौरवको रुपमा उदाउँदै गरेकी आफ्नी बहिनीको मृत्यु पछि आमाबुवाको अवस्था झन पीडादायी बन्दै गरेको उनले बताए । ‘मेरी बहिनीको अकालमै मृत्यु भएको छ, यसको मूल कारण हो लापर्वाही’ आँखामा आँसु टिलपिलाउँदै उनले थपे ‘आज मैले बहिनी गुमाएको छु, म चाहदिनँ कि यस्तो दुर्घटना दोहोरियोस्, सडकमा सतर्कता एवम् सुरक्षा अपनाईनु जरुरी छ ।’
पत्रकार सम्मेलनमा उपस्थित लक्ष्मीका बुवा रामशंकर लाल देव र आमा आशादेवी देवले छोरा जितेन्द्रको हत्यारा अझैं पत्ता नलाग्नु, राजनीतिक दलहरुले समेत चासो नलिनु दुःखद भएको बताए । पछिल्लो पटक छोरीको समेत मृत्युको पीडाले आफुहरुको अवस्था झन् विग्रिदै गईरहेको जानकारी दिँदै उनीहरुले छोराको हत्यारा पत्ता लगाउन, बस दुर्घटनाको विषयमा छानबिन गरी दोषीलाई कडा कार्वाही तथा क्षतिपूर्ती अविलम्व उपलब्ध गराउन सम्वद्ध पक्षसँग अपील गरेका छन् ।