राजविराज, २६ असोज । चीनका राष्ट्रपति सी जिङ पिङ नेपाल आउँदा विरोध गर्न सक्ने आशंकामा राजविराज स्थित निवासबाट गत शुक्रवार पक्राउ परेकी महिला नेतृ सुनिता साहबारे महिला मानव अधिकार रक्षक सञ्जालले जानकारी लिएको छ ।
समाजवादी पार्टी आवद्ध नेतृ साहबारे सञ्जालको टोलीले आईतवार जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर जानकारी लिएको हो । मुद्दा फाँटका इन्स्पेक्टर सन्तोष कुमार खडकासँग भेटेर उनीहरु पक्राउ तथा हालको अवस्थाबारे जानकारी लिएको सञ्जालकी ललिता साहले जानकारी दिएकी छिन् ।
गत असोज २३ गते जिल्ला प्रशाशन कार्यालय बबरमहलको चलानी नम्वर १२७७ को पत्र र महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई घटनाबारे जानकारी दिई रितपूर्वक पक्राउ गरी असोज २४ गते पक्राउ गरी २६ गते आइतवार बिहान स्थलमार्गबाट काठमाण्डौ पठाईएको जानकारी दिईएको छ । अब यसपछिको अनुसन्धान महानगरीय प्रहरी प्रभागले नै गर्ने भनी इन्सपेक्टर खडकाले अनिता देवकोटा नेतृत्वको टोलीलाई जानकारी गराएको छ ।
खडकाका अनुसार चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।
सोही घटनालाई लिएर उनीमाथि अभद्र ब्यवहार गरिएको भनि व्यक्तिद्वारा दिईएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको र सोही अनुरूप अनुसन्धान प्रक्रिया अघि बढाईनेछ । उनी विरूद्ध उक्त अपराध ठहर भएमा नेपालको प्रचलित कानुनमा कम्तीमा एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने प्रावधान रहेको छ ।