राजविराज, २६ असोज । सर्वोच्च अदालत काठमाण्डौका पूर्व न्यायाधीश अवधेश कुमार यादवको ७३ वर्षको उमेरमा निधन भएको छ ।
बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा शनिवार साँझ उपचारको क्रममा निधन भएको हो । सप्तरीको तिरहुत गाउँपािलकाको डिमन निवासी यादव सर्वोच्च अदालतको न्यायाधीश भएर अवकाशप्राप्त भई सुनसरीको लौकही स्थितको घरमा वस्दैआएका थिए ।
विद्यार्थी जिवनकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदैआएका उनी पटक–पटक जेल जिवनयापन गरेका थिए । पूर्वी पाकिस्तानमा पाकिस्तानको अत्याचार विरुद्ध तथा मुक्त बङ्गलादेश, भियतनाममा अमेरिकी कब्जा, युद्ध र अत्याचार विरुद्ध, रङ्गभेद विरुद्ध दक्षिण अफ्रिकी आन्दोलन सहितका संघर्षहरुमा प्रदर्शन तथा ऐक्यवद्धता जनाएका थिए ।
काठमाण्डौमा अध्ययनरत रहँदा सगरमाथा छात्र संघ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको राष्ट्रिय उपाध्यक्ष समेत भएका थिए । काठमाण्डौमा केही वर्ष वकालतको अभ्यास गर्दै उनी गृह जिल्ला सप्तरीमा रहेर समेत वकालत पेशामा लागेका थिए । सोही क्रममा उनी तत्कालिन पूनरावेदन बार एसोसिएसन (हाल उच्च अदालत जनकपुर–राजविराज इजलास)को अध्यक्ष समेत भएर काम गरेका थिए । यादवले न्यायायाधीश हुनु अघि राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा केही वर्ष अध्यापन समेत गरेका थिए ।
जिल्ला न्यायाधीशको जिम्मेवारी सम्हालेपछि उनी विभिन्न जिल्लामा सेवारत रहँदै सर्वोच्च अदालत काठमाण्डौको न्यायाधीश समेत भएका थिए । नेपाल शान्ति समितिको जिल्ला सचिव, नेपाल–सोभियन मैत्री संघ नेपाल एफ्रो एसियन सोलिडेरिटीको सचिव हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी कुशलताका साथ उनले निभाएका थिए । 
भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय एन्टी फाँसीवादी सम्मेलनमा सहभागी, सोभियत संघमा यूवा प्रतिनीधिमण्डलमा मैत्री यात्रामा सहभागी, जुल्फीकारको फाँसी विरुद्ध आन्दोलनमा सहभागिता, २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल जिवनयापन गरेका थिए । यसका साथै २०४७ सालको संविधानको व्याख्याता तथा दलित र समाजिक रुपमा पछाडि परेका समुदायको अधिकारकालागि सशक्त रुपमा उनी आवाज उठाउँदैआएका थिए ।
न्यायालयमा स्वच्छ एवम् इमान्दार न्यायाधीशको रुपमा चिनिएका उनी आफ्नो निजी सम्पत्ती सार्वजनिक गर्ने पहिलो न्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीश पदबाट अवकाश पाएपछि उनी पछिल्लो समय मधेशी जनतामाथिको विभेदको विषयमा सशक्त रुपमा आवाज उठाउँदैआएका थिए । शान्तिपूर्ण मार्गबाट नै मधेशको मुक्ति हुने तथा मुक्तिकालागि आम जनतामा जागरण ल्याउनुपर्ने धारणा राख्दैआएका थिए ।
पूर्व न्यायाधीशका पत्नी भवानी देवी, छोराहरु क्रमशः अरुण कुमार यादव, डा. रविन्द्र कुमार यादव, कविन्द्र यादव र छोरी डा. गीता यादव छिन् । उनका छोरा डा. रविन्द्र विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) का अन्तर्राष्ट्रिय समिति महासचिव हुन् । उनी सामाजिक सेवाका साथै मधेश र मधेशीहरुको हकहितकालागि सक्रिय रहँदैआएका छन् ।
उनको शवलाई विहान राजविराज स्थितको निवासमा केहीबेर श्रद्धाञ्जलीकालागि राखिएको थियो । त्यसक्रममा उनको पार्थिव शरिरमा बार एसोसिएसनको झण्डा ओढाईएको थियो । प्रदेश २ का भूमी, व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, न्यायाधीश दिनेश कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, पूर्व मेयर शैलेश कुमार चौधरी, पूर्व क्याम्पस प्रमुखद्वय प्राध्यापक अमरकान्त झा, प्रा.डा. रामखेलावन यादव, राष्ट्रिय जनता पार्टीका महासचिव जयप्रकाश ठाकुर, सह–महासचिव गजेन्द्र कुमार मण्डल, नेपाल निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष अजयकुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पूनरावेदन वारका पूर्व अध्यक्ष श्यामनारायण साह, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवसहित विभिन्न क्षेत्र एवम् पेशासँग सम्वन्धित व्यक्तिहरुले पूर्व न्यायाधीश यादवलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
उनको शवलाई आइतवारै जन्मस्थान डिमन लगिएको थियो । सयौं सर्वसाधारण एवम् विशिष्ट व्यक्तित्वहरुको सहभागितामा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
