• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अमृतनाथ शताब्दि स्मृतिग्रन्थको विषयमा छलफल एवम् पुस्तक विमोचन

अमृतनाथ शताब्दि स्मृतिग्रन्थको विषयमा छलफल एवम् पुस्तक विमोचन

राजविराज, २५ असोज । संस्कृत र मैथिली भाषाका विद्वान पंण्डित अमृतनाथ मिश्रको स्मरणमा प्रकाशित हुन लागेको अमृतनाथ शताब्दि स्मृतिग्रन्थको विषयमा शनिवार राजविराजमा छलफल भएको छ ।
मैथिली साहित्य परिषदको संयोजन तथा अमृतनाथ शताब्दि स्मृतिग्रन्थ प्रकाशन समिति वीरगञ्जको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । परिषद्का अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षता तथा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको प्रमुख आतिथ्यमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।
मैथिली भवनमा आयोजित कार्यक्रममा चर्चित मैथिली साहित्यकार चन्द्रमोहन झा (पडवा), मिथिला विश्व विद्यालयका सिनेटर डा. रामसुभद्र झा, चन्द्रशेखर झा (बूढाभाइ), पं. महेश्वर झा, परिषद्का पूर्व अध्यक्षहरु विवेकानन्द मिश्र, शुभचन्द्र झा, मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल, हिन्दी साहित्य प्रतिष्ठानका सचिव सुरेन्द्र प्रसाद गुप्ता, मैथिल महिला परिषद्का अध्यक्ष शान्ति झा, साहित्यकार पूनम ठाकुर, महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुरले मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसकी अध्यापक बन्दना मिश्र (मधु), राजदेवी सङ्गीत कला केन्द्रकी संस्थापक विद्या मिश्रा, गायिका कञ्चन झा, मैथिली साहित्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले पं. मिश्रको योगदान एवम् कृतित्वबारे चर्चा गरे ।
सोही अवसरमा स्व. मिश्रद्वारा लिखित एवम् चन्द्रमोहन झा (पडवा)द्वारा सम्पादित पुस्तक अमृत विचारको विमोचन प्रमुख अतिथि परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रसहित विशिष्ठ अतिथिहरुद्वारा संयुक्त रुपमा गरिएको छ । कार्यक्रममा प्रकाशन समितिका सदस्य सचिव दिनेश मिश्र (गोपाल)ले कार्यक्रमको उद्दृश्यबारे विषय प्रवेश गराए भने धन्यवाद ज्ञापन स्व. पं. मिश्रका सुपुत्र भगवान मिश्रले गरे । कार्यक्रम सञ्चालन परिषद्का सचिव अजय कुमार झाले गरे ।
स्व. मिश्रको नाममा नेपाल सरकारले हुलाक टिकट समेत प्रकाशन गरेको छ । वि.सं.१९७७ मा महोत्तरी जिल्लाको बनौली गाउँमा उनको जन्म भएको थियो । संस्कृत र मैथिलीको प्रकाण्ड विद्धानको रुपमा चर्चित पं. मिश्र शिक्षण पेशा पश्चात गाउँमै २००६ सालमा वेद विद्यालय र २०१३ सालमा सुधा पुस्तकालय स्थापना गरेका थिए । ९५ वर्षको उमेरमा २०७२ सालमा उनको निधन भएको थियो ।