• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेकांको सभामा सांसद चौधरीमाथि हातपात

नेताहरुद्वारा कार्यक्रम वहिष्कार, सभापति यादवलाई निष्काशनको माग
नेकांको सभामा सांसद चौधरीमाथि हातपात

राजविराज, ७ असोज । नेपाली कांग्रेस सप्तरीले राजविराजमा मङ्गलवार आयोजना गरेको जागरण सभामा पार्टीका नेताहरुमाथि हातपात भएको छ ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको जागरण कार्यक्रममा सप्तरी क्षेत्र नम्वर ४ नम्बरका निर्वाचित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीमाथि आफ्नै पार्टीका कार्यकर्ताहरुले हातपात गरेका हुन् । जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर विवाद उत्पन्न हुँदा सांसद् चौधरीमाथि काँग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारेका थिए ।
आसन ग्रहणको क्रममा वरियता क्रम मिचेर कनिष्ट नेताहरुलाई आसन ग्रहण गराए पनि सांसद् चौधरीलाई बेवास्ता गरिएपछि वरिष्ठताको विवाद मञ्चमै उत्पन्न भएको थियो । मञ्चमै विवाद उत्पन्न भईरहँदा सांसद् चौधरीसहितका नेताहरुले कार्यक्रम बहिष्कार गर्दै बाहिरिएका थिए । उनीहरुले राजविराजमा काँग्रेसका जिल्ला सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरेका छन् ।
उनीहरु नाराबाजी पश्चात राजविराज स्थित शहिद दशन चौकमा विरोध सभा आयोजना गरे । सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूहरुमाथि नियोजित रुपमा हातपात गराईएको कार्यक्रम वहिष्कार गर्ने समूहरुको आरोप छ । विरोधसभामा प्रतिनिधी सभा सदस्य तेजुलाल चौधरी, सांसद नबिता चौधरी, पूर्व सांसद एवम् यूवा नेता रंजित कर्ण लगायतले सम्बोधन गरे ।
यसकारण भयो कार्यक्रम वहिष्कार
उद्घोषकले कार्यक्रम सञ्चालनका क्रममा नेताहरुको वरियता क्रम मिलाउनुपर्नेमा तलमाथि गरिएको असन्तुष्ट पक्षको भनाइ छ । मर्यादाक्रम भङ्ग गरी चौधरीलाई पछि आसन ग्रहणकालागि आग्रह गरिएको थियो । उद्घोषकले सांसद चौधरीको नाम उच्चारण गरे पनि उनी मञ्चमा जान अस्विकार गरेका थिए । यद्यपी नेताहरुले सांसद चौधरीलाई आग्रह गरे पनि उनी मञ्चमा पुगेका थिए । सोही क्रममा पार्टीकै कार्यकर्ताहरु धक्का दिँदै मञ्चबाट तल झारेका थिए ।
तत्पश्चात पार्टीका केही नेता तथा कार्यकर्ताहरु नाराबाजी गर्दै कार्यक्रम बहिस्कार गरे ।
वहिष्कार गर्नेहरुमा को–को थिए ?
पार्टीका जिल्ला सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रम वहिष्कार गर्नेहरुमा प्रतिनिधी सभा सदस्य तेजुलाल चौधरी, सांसद नमिता चौधरी, पूर्व सभासद एवम् यूवा नेता रंजित कर्ण, नेपाली कांग्रेस जिल्ला सभापतिका प्रतिद्वन्द्वी रामदेव साह, महाधिवेशन प्रतिनिधिहरु हेमनारायण चौधरी, ध्रुव नारायण चौधरी, जिल्लाका वरिष्ठ नेता विकेश्वर प्रसा विमल, जिल्ला सदस्य सरोज कुमार विराजी, महासमिति सदस्य बलराम मण्डल, क्षेत्र नम्वर १ का सभापति बद्रीनारायण महात्मान यादव, प्रदेश सभा सदस्यका प्रत्यासी सिताराम झा, जिल्ला सदस्य बद्री प्रसाद साह, महाधिवेशन सदस्य नारायण चौधरी, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति पार्थो सरकार, नेपाल तरुण दलका सिता प्रसाद यादव सहित करिब दुई सयभन्दा बढी नेता कार्यकर्ताहरु छन् ।
नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादव समर्थित कार्यकर्ताले सुनियोजित रुपमा आफूहरुमाथि आक्रमण भएको भन्दै उक्त कार्यको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका छन् । पार्टीका जिल्ला सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न सामुहिक रुपमा माग गरेका छन् ।
यता काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले आफुमाथि लगाईएको आरोप निराधार रहेको दावी गरेका छन् । सांसद् चौधरीले नै कार्यकर्ताहरुलाई गाली गरेको उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् । पार्टीका जिल्ला सभापति यादव शेरबहादुर देउवा पक्षधर तथा सांसद चौधरी रामचन्द्र पौडेल पक्षधर मानिन्छन् ।