• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माझीसहित सप्तरीका पाँच विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृति

माझीसहित सप्तरीका पाँच विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृति

राजविराज, ६ असोज । सप्तरीको राजविराज नगरपालिका– ३ निवासी अभिजित माझीसहित जिल्लाका पाँच जना एमबिबिएस परीक्षामा सहभागी ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै टप २५ मा नाम निकाल्न सफल भएका छन् ।
राजविराजस्थित दुर्गा सेकेन्ड्री स्कुलबाट २०७० सालको एसएलसीमा सहभागी भई ८८.७ प्रतिशत अंक ल्याई जिल्ला प्रथम भएका माझी बिराटनगरस्थित लर्ड बुद्ध कलेजबाट कक्षा ११ र १२ मा पनि टप १० मा परी इन्स्टिच्युट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा असोज ३ मा लिइएको एमबिबिएस परीक्षामा सहभागि भएका थिए ।
रोल नम्वर ५६१७ रहेको माझीले एमबिबिएसको परीक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका छन् । नर्सरीदेखी नै दुर्गा बोर्डिङ स्कुलमा अध्ययन गरेका उनी कक्षा १० सम्म निरन्तर प्रथम हुँदैआएका थिए । उनको सफलताले माझी परिवारजनसहित उनी अध्ययन गरेको विद्यालय र कलेज परिवारका साथै स्थानियले पनि खुशी व्यक्त गरेका छन् ।
अभिजितले सफलताको श्रेय आफ्नो मिहिनेत, गुरुजन तथा आमाबुबाको आशिर्वादले सम्भव भएको प्रतिक्रिया दिएका छन् । उनी सप्तरीका पत्रकार एम के माझीका छोरा हुन् । नेपालमा सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरामा घरको आर्थिक अवस्था बाधक बने पनि दिनरात गरेको कडा महिनेतले बाधा हटाएको उनको भनाई छ ।
‘मिहिनत मात्रै गरे समयले बाटो देखायो र डाक्टर बन्ने सपना साकार बनायो’ उनले भने, ‘नतिजा मेरो एक्लो मिहिनेतले मात्र आएको होइन्, आमाबुबाले दिएको संस्कार र अध्ययन गरेको विद्यालय र कलेजका गुरुहरुले दिएको शिक्षा र वातावरणको परिणाम पनि हो । उनीसँगै टप २५ मा सप्तरीका प्रह्लाद गुप्ता, पंकज गुप्ता, विकास साह र विवेक यादव समेत एमबिबिएसमा नाम निकाल्न सफल भएका छन् ।