• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सार्वजनिक शौचालयमा वडाध्यक्षको ताल्चा

खुल्लामै शौच गर्न बाध्य मुसहर समूदाय
सार्वजनिक शौचालयमा वडाध्यक्षको ताल्चा

विद्यानन्द राम
राजविराज, ६ असोज । ‘जेकर घरमे चर्पी नै, ओकर घरमे शादी नै’ मुल नाराका साथ ०७४ चैत्र २१ गते सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरियो ।
८० प्रतिशतबढी घरमा शौचालय निर्माण भईसकेको तथा बाँकी विपन्न गरिब र सुकुम्वासीका लागि स्थानीय सरकारले सार्वजनिक शौचालय निर्माण गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएपछि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरियो । सोही प्रतिवद्धताअनुसार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका सुकुम्वासी १५ विपन्न दलित परिवारका लागि पनि शौचालय निर्माण गरियो । तर, डेढ वर्ष वितिसक्दा पनि ती विपन्न परिवारलाई भने शौचालय प्रयोग गर्न दिइएको छैन्


शौचालयको उद्घाटन गरेपछि मात्रै प्रयोगमा ल्याउने जनप्रतिनिधिको अडानका कारण ती दलित परिवारलाई खुल्लामै शौच गर्ने बाध्यता परेको छ । सात लाख रुपैयाँ खर्चिएर डेढ वर्षअघि नै निर्माण गरिएको सार्वजनिक शौचालयलाई उद्घाटन गरेपछि मात्रै प्रयोगमा ल्याउने भन्दै जनप्रतिनिधिले ताल्चा लगाएर राख्दा ६० भन्दाबढी व्यक्तिलाई खुल्लामै शौच गर्ने बाध्यता परेको हो ।
‘आ–आफ्नै शौचालय बनाउने सोच नभएको पनि होइन्, जसोतसो बनाउन सक्छौं’ निलमदेवी सदाले भनिन्–‘तर आफुहरु सुकुम्वासी हो, फेरी केही समयभित्रै यस स्थानबाट आफुहरुलाई स्थानान्तरण गर्ने भनिएकोले शौचालय बनाएको छैन् ।’
उनले पटक पटक शौचालयमै खर्च गर्न आफुहरुसँग पैसा नरहेको दुखेसो गर्दै बस्तीसँगै टाँसिएर बनाइएको सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउनुपर्ने माग गरिन् । ‘आखिर यो सार्वजनिक शौचालय नै हो’ उनले भनिन्–‘ सर्वसाधारणकै लागि बनाइएको सार्वजनिक शौचालयमा ताल्चा लगाएर राखेकोले आफुहरुलाई जग्गा धनीको गाली सहेरपनि खुल्लामा शौच गर्ने बाध्यता छ ।’
सोही ठाउँकी रिता देवी सदाले शौचालय खुलाउन पटक पटक आग्रह गर्दा समेत जनप्रतिनिधिले वेवास्ता गर्दै आएको गुनासो गरिन् । ‘आफुहरुलाई शौच गर्न कठिनाई भईरहेको भन्दै शौचालय खुलाउन कति पटक वडाध्यक्षलाई आग्रह गरिसक्यौं’ उनले भनिन्–‘तर वडाध्यक्ष ज्युले मान्नुभएन्, शौचालयको उद्घाटन गरेपछि मात्रै प्रयोगमा ल्याउने वडाध्यक्षज्यू भन्नुहुन्छ ।’
उनले शौचालय खुलाउनेतर्फ गाउँपालिकाले समेत पहल नगरेकोले आफुहरुलाई २१ औं शताब्दीको अन्त्यतिर पनि १९ औं शताब्दीको जीवन जिउन बाध्य रहेको बताइन् ।


‘विपन्न दलितलाई कसले हेर्छ र’ जगदेव सदाले भने–‘कोखाबखारीमा बसोवास गरेको तीन पुस्ता वित्यो, पाँच वर्षअघि मात्रै स्थानान्तर गरेर यो ठाउँमा बसोवास गर्न लगायो ।’ तर अहिले फेरी यो ठाउँबाट अर्को ठाउँमा स्थानान्तर गर्ने रे,–उनले थपे ।
उनले पटक पटकको स्थानान्तरले आफुहरुको जनजीवन अस्तव्यस्त हुँदा पनि आफुहरुप्रति कसैको ध्यान नपुगेको दुखेसो गरे । उनले जनजीवन सहज पार्न सहयोग गरिदिनुहुन सम्वन्धि सवै पक्षमा आग्रह समेत गरे ।


यता, वडाध्यक्ष विनोदकुमार साहले शौचालयमा बाँकी रहेको घेरावेरा निर्माण कार्य पुरा गरेर उद्घाटन गरेपछि मात्रै प्रयोग गर्न दिने स्वीकार गरे । ‘शौचालयको घेरावेरा हुन सकेको छैन्, घेरावेरा गरेर आफैले उद्घाटन गर्ने र त्यसपछि मात्रै प्रयोगमा ल्याउने योजना छ’ उनले भने–‘तबसम्म कार्यालय समयमा वडा कार्यालयकै शौचालय प्रयोग गर्न दिन सक्छु ।’

कार्यालय बाहेकको समयमा शौच गर्न उनीहरु कहाँ जान्छ, त्यो मलाई थाहा छैन्, उनले थपे ।