• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शासन व्यवस्था फेरियो, राजविराज नगरको अवस्था फेरिएन्

शासन व्यवस्था फेरियो, राजविराज नगरको अवस्था फेरिएन्

राजविराज, ५ असोज । भारतको गुलाबी शहर भनेर चिनिने जयपुरको नक्सामा बनाइएको राजविराज नगरपालिकालाई व्यवस्थित गर्नेतर्फ सम्वन्धि पक्षको ध्यान पुग्न नसक्दा नगरको रौनक कम हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन ।
शनिवार जिल्ला प्रहरी कार्यालय सप्तरी र सामूदायिक प्रहरी सेवा केन्द्रले राजविराजमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रमका वक्ताहरुले मुलुककै पुरानोमध्येको नगरलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधिले समेत वेवास्ता गरिरहदाँ अस्तव्यस्त हुन पुगेको बताएका हुन् ।
‘२०१६ सालमा स्थापना भएको नगर झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहीन नै रह्यो’ समाजवादी पार्टीकी महिला नेतृ सुनीता साहले भनिन्–‘दुई दशकपछि जनप्रतिनिधि आएसँगै नगरको काया पलट हुन्छ भने आशा पलायो, तर जनप्रतिनिधि आएको तीन वर्ष वित्दा समेत नगरले कोल्टे फेर्न सकेन् ।’
अहिले त जथाभावी फालिएको फोहोर, सडकमै जताततै थुपारिएका निर्माण सामाग्री र अव्यवस्थित पार्किङ्गका कारण हिलडुल गर्न समेत समस्या पर्ने थालेको उनले गुनासो गरिन् ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले नगर र बजारलाई सुधार्न गर्न जनप्रतिनिधिका साथ सवै पक्षले ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याए । ‘जनप्रतिनिधि आएको अझैसम्म नगरवासीले अनुभुति गर्न पाएको छैन्’ उनले भने–‘जनप्रतिनिधिहरुको कमजोरी त छ नै, नगरवासीलाई समेत हातेमालो गर्नु जरुरी छ ।’
अहिले राजविराजको नामले मात्रै मान्छे अस्तव्यस्त शहर भनेर वुझ्ने गरेकाले वुझाई परिवर्तन गर्न सवै मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनील खनालले लागूऔषध नियन्त्रण तथा अन्य अपराधको सवालमा प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताए । ‘प्रहरी त सक्रिय छन नै, त्यसमा तपाईहरुको पनि साथ र सहयोगको चाहिन्छ’ उनले भने–‘तपाईहरुको थोरै साथ र सहयोगले अपराधमुक्त समाज निर्माणमा टेवा पुग्छ ।’
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले नगरलाई सफा, सुन्दर, अतिक्रमणमुक्त र व्यवस्थित गर्न प्रयत्न जारी रहेको बताए । ‘मास्टर प्लानिङ्ग गरेर अघि बढेका छौं, केहि समय लाग्छ’ उनले भने–‘नगरवासीले चाहेकै जस्तो नगर व्यवस्थित हुन्छ ।’ उनले समाजलाई अपराधमुक्त गर्न प्रहरीसँग समन्वय गरी अघि बढ्ने बताए ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवले पछिल्लो पटक जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बृद्धि भएकोप्रति दुःख व्यक्त गरे । ‘लागूऔषध प्रयोगकर्ता कम गर्न लागुऔषधको कारोवार नियन्त्रण गर्न जरुरी छ’ उनले भने–‘लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई आगरुक हुनुपर्छ, जसमा स्थानीयवासी र जनप्रतिनिधिले समेत प्रहरीलाई सहयोग गरेर सभ्य समाज निर्माणमा भुमिका निर्वाह गर्नु आवश्यक छ ।’