• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

स्थानीय सरकारको असहयोगले राजविराज भन्सारको असुली प्रभावित

स्थानीय सरकारको असहयोगले राजविराज भन्सारको असुली प्रभावित

राजविराज, २२ भदौ । स्थानीय सरकारको असहयोगका कारण राजविराज भन्सार कार्यालयको राजस्व संकलन कार्य प्रभावित भएको छ ।
गत आर्थिक वर्ष (०७५÷०७६) मा कुल ८ करोड ६९ लाख ३७ हजार लक्ष्य पाएको कार्यालयले ७ करोड ९७ लाख २८ हजार १५ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । ‘लक्ष्य पुरा गर्न स्थानीय सरकारले पनि सघाउनुपर्ने हो, तर स्थानीय सरकारले चैं भन्सार छुट गर्न मुल्य समेत उल्लेख गरेर सिफारिश दिएर पठाउनुहुन्छ’ भन्सार कार्यालयका प्रमुख अभिषेक कण्ठले भने–‘भन्सार छुटकोलागि आएको सिफारिशका कारण भन्सार संकलन गर्न समस्या हुने गरेको छ ।’
उनले सिफारिश लिएर आउने गरेका सेवाग्राहीलाई सम्झाएर फर्काएपनि भन्सार छुटकोलागि सिफारिश बारम्वार आउने गरेको बताए । ‘स्थानीय सरकारको सिफारिशलाई आधार मानेर भन्सार छुट गर्न मिल्दैन्’ उनले भने–‘त्यस्ता सिफारिशमा सर सामान ओसार पसार गरेको पाइएमा चोरी तस्कारी नै मानिन्छ ।’ बाढीग्रस्त क्षेत्र रहेकोले पनि वैशाख, जेष्ठ र असारमा बाटोघाटो अवरुद्ध भएर तीन महिनासम्म राजस्व संकलन कम भएको र पछिल्लो पटक राजस्व अनुसन्धान कार्यालयको व्यापारीहरुमा देखिएको त्रासले समेत सुनसरी र सिरहातर्फ व्यापारीहरु मोडिएको भन्सार प्रमुख कण्ठले बताए ।
कार्यालयको तथ्याङ्क अनुसार साउनमा ५० लाख ५७ हजार, भदौमा ८४ लाख ८० हजार, असोजमा १ करोड ७ लाख १ हजार, कार्तिकमा ५७ लाख ३८ हजार, मंसिरमा ६५ लाख ९३ हजार, पौषमा ३८ लाख ९५ हजार, माघमा ७१ लाख १० हजार, फाल्गुनमा १ करोड १२ लाख ५९ हजार, चैत्रमा ४४ लाख ६८ हजार, वैशाखमा ७५ लाख ३५ हजार, जेष्ठमा ४८ लाख ३९ हजार, अषाढमा ४० लाख ५३ हजार रुपैयाँ भन्सार संकलन भएको छ ।
मासिक प्रगति अनुसार साउनमा ८३, भदौमा १ सय ३, असोजमा १ सय २६, कार्तिकमा १ सय १५, मंसिरमा १ सय १०, पौषमा १ सय १, माघमा पनि १ सय १, फाल्गुनमा १ सय ७, चैत्रमा १ सय १, वैशाखमा १ सय, जेष्ठमा ९६, अषाढमा ९१ दशमलव ७ प्रतिशत भन्सार संकलन तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयले आर्थिक वर्ष ०७४÷०७५ मा पनि ८ करोड ६९ लाख ३७ हजार लक्ष्य पाएकोमा ७ करोड ९७ लाख २८ हजार १५ रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।