राजविराज, २१ भदौ । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले अपराधिलाई कानूनी दायरामा ल्याउन आफुसहित मातहतका प्रहरीले तत्परताका साथ कार्य गर्ने बताएका छन ।
शनिवार पत्रकारहरुसँग भेटघाट कार्यक्रममा उनले नेपाल प्रहरीले निर्वाह गर्ने भुमिकामा स्वच्छ र निष्पक्ष रुपमा कार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट सरुवा भएर सप्तरी आएका एसपी प्रसाईंले समाजमा शान्ति सुरक्षा कायम गर्ने पहिलो दायित्व रहेकोले शान्ति सुरक्षा कायम गर्न तत्परताका साथ कार्य गर्ने बताए । ‘अपराधिक गतिविधिमा संलग्न व्यक्ति वा संगठनलाई कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी राख्दिन्’ उनले भने–‘अनुसन्धानले दोषी देखिनेहरु कुनै पनि बहानामा उम्किन पाउदैनन् ।’
उनले निर्दोषलाई सजाय नहोस् र दोषी उम्किन नपाऔंस भने उद्देश्यले आफु तथा मातहतका प्रहरीले कार्य गर्ने विश्वास व्यक्त गरे । साथै प्रहरीभित्रै रहेका केहि व्यक्तिहरुले प्रहरीमाथि नै प्रश्न उठिरहेको बताउँदै उनले पर्यादा विपरित कार्य गर्ने प्रहरीलाई समेत कारवाही गर्न पछि नहट्ने दावी गरे । ‘डिआइजी साबले भन्नुहुन्छ, किराहरु जहाँ पनि छन्’ उनले भने–‘ती किराहरुलाई सफाई गर्ने मेरो पहिलो प्राथमिकताको विषय हो, चाहे त्यो प्रहरीमा होस् वा समाजमा ।’
उनले प्रहरीले केहि गलत गरिरहेको वा गरेको पाइएमा तत्काल कारवाही गर्ने बताए । प्रहरीले गलत गरेको खण्डमा प्रहरीलाई कडाईका साथ कारवाही हुन्छ,’ उनले थपे । केहि दिनभित्रै सप्तरीवासीलाई आफु र मातहतका युनिटले काम गरेको प्रत्याभुति गराउने हिसावले अघि बढेको पत्रकारसँगको भेटघाटमा एसपी प्रसाईंले ठोकुवा समेत गरे ।