• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

संविधान संशोधन गर्न तयार भए मात्र ओली सरकारलाई समर्थनः महतो

मलेठ घटनाका शहिदहरुको पहिलो पुण्यतिथि
संविधान संशोधन गर्न तयार भए मात्र ओली सरकारलाई समर्थनः महतो

राजविराज, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न तयार भए आफुहरु समर्थन गर्न तयार रहेको बताएका छन् ।
सप्तरीको मलेठ घटनाका पाँच जना शहिदहरुको प्रथम पुण्यतिथिको अवसरमा बुधवार आयोजित श्रद्धान्जलीसभामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । बाम गठबन्धन सरकारका प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर देशलाई विकास र समृद्धिको बाटोमा डोर्याउनुपर्नेमा नेता महतोलले जोड दिंदै भने ‘ओलीजी संविधान संशोधन गरेर मधेशी, दलित, आदिवासी, जनजाती, मुस्लिम लगायतका पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्न तयार भयो भने राजपा समेत दुई तिहाई पुर्याउन तयार छ ।’
चुनाव सम्पन्न भएपछि सबै समस्याको समाधान भईसकेको भनी सोच्नु गलत रहेको भन्दै अहिले पनि जनताको वास्तविक समस्याको सम्बोधन हुन नसकेकोले मागहरु सम्बोधन गरेर देशलाई निकास दिनुपर्ने बताए । मधेसी समुदायको अधिकार, पहिचान र शासन सत्तामा समान सहभागिता नभएसम्म आफुहरुको आन्दोलन जारी रहने समेत नेता महतोले प्रष्ट्याए ।
कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मलेठका शहिदहरुको सपना साकार पार्न तथा आम मधेशी जनताको आकांक्षा अनुसार नै आफुहरु एकतावद्ध भएको बताए । शहिद परिवारको भरणपोषण लगायतका विषयमा राजपा गम्भीर रहेको भन्दै त्यसको व्यवस्थापन गर्न आफुहरुले दायित्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघीय समाजवादी फोरम नेपालका नेता एवम् प्रदेश नम्वर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संविधान संशोधन गर्नुको विकल्प नरहेको भन्दै वर्तमान सरकारलाई गम्भीर बन्न आग्रह गरे । राजपा र फोरमको सहकार्यकै कारण प्रदेश नम्वर २ मा मधेशवादी शक्तिको पक्षमा जनमत आएको भन्दै यो एकतालाई लक्ष्यप्राप्ति नभएसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए ।
राजपाका वरिष्ठ उपाध्यक्ष एवम् सामाजिक विकास मन्त्री नवलकिशोर साहले शहिदहरुको विषयमा राजपाले ट्रष्ट मार्फत सेवा सुविधा लगायतका कार्यहरुलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न लागेको बताए । कार्यक्रममा संसदीय दलका नेता एवम् भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संविधान संशोधन आफुहरुको मूल लक्ष्य भन्दै संशोधन गराएरै छाडिने बताए ।
राजपा नेपालका जिल्ला अध्यक्ष अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन फोरमका जिल्ला सचिव केदार यादवले गरे ।
सोही श्रद्धाञ्जली सभामा मलेठ घटनाका शहिद परिवारहरुलाई पाँच हजार १ सय नगद तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । गत वर्ष फागुन २३ गते भएको मलेठ घटनामा प्रहरीको गोली लागेर आनन्द साह, पिताम्वर मण्डल, विरेन्द्र महतो, ईनर यादव र सञ्जन मेहताको मृत्यु भएको थियो ।