राजविराज, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता एवम् भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भौतिक निर्माण सम्वन्धि काममा ढिला सुस्ती र गुणस्तरहिनता देखिए त्यसलाई कदापि बर्दास्त गर्न नसकिने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले बुधवार आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । विकास निर्माणको दृष्टिकोण प्रदेश नम्वर २ अत्यन्त पछाडि रहेकोले तिब्र रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘भौतिक निर्माण सम्वन्धि काममा ढिला सुस्ती र गुणस्तरहिनता देखिए त्यसलाई कदापि बर्दास्त गरिने छैन, विगतको परिपाटीलाई त्यागेर नयाँ ढङ्गबाट अगाडि बढ्नु जरुरी छ ।’
केन्द्रीय योजनाहरुमा समेत मनपरी ढङ्गले काम गर्न कसैलाई छुट नभएको भन्दै मन्त्री सोनलले निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताए । निर्माण सम्वन्धि काम समयमा पुरा नहुनुको मुख्य कारण निर्माण कम्पनीहरुले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री सोनलले भने ‘निर्माण काम गुणस्तरीय नहुन र समयमा काम पुरा नहुनुको अर्को मूल कारण हो ५० प्रतिशत बिलो (घटाएर) कामको जिम्मा लिनु, यसलाई समेत सुधार गरेर अगाडि बढ्नेछौं ।’
प्रदेश नम्वर २ को गतिविधिलाई पारदर्शी बनाउन हरेक गतिविधीलाई आम जनता समक्ष पुर्याउन सूचना संयन्त्रलाई समेत प्रभावकारी बनाउने काम भईरहेको उनले बताए । मुख्यमन्त्री लगायत सम्पूर्ण मन्त्रालयहरुमा सूचना डेस्क राखी गतिविधीहरुलाई पारदर्शी बनाउन लागेको मन्त्री सोनलले जानकारी दिए ।
कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश कुमार यादवलाई महासंघ सप्तरीद्वारा केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघ अध्यक्ष अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव जितेन्द्र कुमार झा, कोषाध्यक्ष शुभचन्द्र झा सहितका पदाधिकारीहरुले स्वागत एवम् सम्मान गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सचिव गजेन्द्र कुमार मण्डल, केन्द्रीय सदस्य विपी यादव, प्रा. अमरकान्त झा, हरि राय, दिनेश यादव, निजामी कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतको उपस्थिति थियो ।