राजविराज, २१ फागुन । प्रदेश नम्वर–२ प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ फागुन २८ गते राजविराजमा आयोजना हुने भएको छ ।
‘उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकला सहित स्थानीय वस्तुहरुको प्रवद्र्धनकालागि प्रदेश नम्वर २ प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव भव्यताका साथ सफल पारौं’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने भएको हो । सप्तरी उद्योग वाणिज्य संघको मूल आयोजना तथा जिल्ला समन्वय समितिको सह आयोजन एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्ड काठमाण्डौको प्रवद्र्धनमा महोत्सव आयोजना हुन लागेको संघका अध्यक्ष अरुण कुमार प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीय उत्पादनहरुको प्रदर्शनी एवम् प्रवद्र्धन, लगानीको अवसर श्रृजना गर्ने, सूचना प्रविधि सम्वन्धि जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने, प्रतिभाको पहिचान गरी पेशागत क्षमतामा बृद्धि गराउने महोत्सवको उद्देश्य रहेको छ । पर्यटन क्षेत्रको पहिचान तथा विकासमा सहयोग गर्ने, आधुनिक नयाँ प्रविधि, उपकरण एवम् मेसिनको बारेमा जानकारी गराउने, उत्पादन र उपभोक्ता बीच सम्वन्ध अभिवृद्धि गर्ने, लगानीका अवसरहरु श्रृजना गर्ने, मिथिला, थारु, मुस्लिम, मारवाडी, नेवार, मगर सहितको विभिन्न संस्कृतिको सांस्कृतिक प्रदर्शनी तथा खानाको परिकार लगायतका उद्देश्यहरु रहेको अध्यक्ष प्रधानले बताए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा औद्योगिक प्रदर्शनी तथा खरिद बिक्री, दैनिक उपभोग्य सामग्रीहरुको प्रदर्शनी तथा खरिद बिक्री, बाल उद्यान तथा मनोरञ्जन, स्थानीय कला संस्कृति प्रदर्शन, पर्यटन प्रवद्र्धन तथा गन्तव्य पहिचान गराउने, स्थानीय भाषाहरुको गीत तथा नृत्यु प्रदर्शन, सूचना प्रविधिको प्रदर्शन, ईलेक्ट्रोनिक्स सामानहरुको प्रदर्शनी तथा बिक्री गरिने उनले जानकारी दिएका छन् । उनका अनुसार कृषि बीऊ विजन प्रदर्शन तथा बिक्री, हस्तकला, चित्रकला, ज्योतिष परामर्श, शैक्षिक परामर्श कन्सलटेन्सी, बाँस, मुँज, सिक्की, धानबाट बनेका सामग्री, शो रुम मोटरसाइकल, म्याजिकल कलेक्सन, होटेल तथा क्यान्टिन समेत रहने अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा १ सय ५० ओटा विभिन्न प्रकारका स्टलहरु रहने जनाईएको छ । करिब एक करोड ५५ लाख रुपैयाँ महोत्सवमा खर्च हुने अनुमान गरिएको छ ।