• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको स्वेडेक अब बैंक बन्दै

लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको स्वेडेक अब बैंक बन्दै

राजविराज, २५ माघ । लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको सप्तरीको सामुदायिक महिला विकास केन्द्र (स्वेडेक) बैंकको रुपमा मान्यता पाउने क्रममा रहेको अध्यक्ष ई. इन्द्रनारायण देवले बताएका छन् ।
राजविराजमा विहीबार आयोजित संस्थाको अद्र्ध वार्षिक समिक्षा गोष्ठीमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । २०५१ सालमा संस्थाको रुपमा स्थापना भई नेपाल राष्ट्र बैंकबाट २०५७ साल असार २० गते प्राप्त गरी लघुवित्त कार्यक्रम थालेर समुदायमा काम गर्दागर्दै हाल बैंकको रुपमा मान्यता पाउने क्रममा रहेको उनले जानकारी दिए ।
संस्थाले सप्तरी, सुनसरी र उदयपुरमा १३ ओटा शाखाहरु सञ्चालनमा रहेको, कर्मचारी ९३ जना, सदस्य संख्या २६ हजार ९ सय ७८ जना, कुल सेवा पुगेको जनसंख्या १ लाख ६१ हजार रहेको उनले बताए । उनका अनुसार बचत परिचालन २३ करोड ६३ लाख ३१ हजार ८ सय ९७ रुपैयाँ, हालसम्मको कुल ऋण वितरण २ अर्ब ५८ करोड १७ लाख ४३ हजार ५ सय, कुल ऋण असुली २ अर्ब २३ करोड, ७८ लाख ५४ हजार ६ सय ७२ रुपैयाँ, ऋण बाँकी ३४ करोड ३८ लाख ८८ हजार ८ सय २८, हालसम्मको आम्दानी २५ करोड ९३ लाख १८ हजार ९ सय ६८ रहेको छ ।
संस्थाको गतिविधिबारे जानकारी दिँदै देवले हालसम्मको कुल खर्च २० करोड ३८ लाख ५६ हजार ८ सय, जगेडा कोष सञ्चालन पुँजी ५ करोड, ५४ लाख ६२ हजार १ सय ६७ रुपैयाँ रहेको बताए । संस्थालाई अगाडि बढाउन कर्मचारी, सञ्चालक समिति, सदस्यहरु समेतको योगदान रहेको भन्दै अध्यक्ष देवले धन्यवाद दिए ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मीरा देवले शुरुमा आफुहरु ७ जना महिलाले संस्था सञ्चालनमा ल्याएको स्मरण गर्दै हाल संस्था बैंकको रुपमा स्थापना हुन लागेको भन्दै खुशी व्यक्त गरे । संस्थामा महिलाहरुलाई आवद्ध गराएर सशक्तिकरणका साथै आत्म निर्भर बनाउन लघुवित्त कार्यक्रम सञ्चालन गर्दैआएको उनले बताईन् ।
संस्थाका अध्यक्ष ई. देवको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवले संस्थाले सप्तरीसहित चार जिल्लामा गर्दैआएको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरे । गोष्ठीमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्षद्वय श्यामसुन्दर यादव, सुधा देव, कल्याण पोष्टका सम्पादक माला कर्ण, धर्मीहल्फा महिला विकास क्लवका अध्यक्ष ई. सूर्यनारायण यादव, राजनीतिकर्मी विनोद यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाका सन्तोष कुमार यादवले गरे ।
दुई दिनसम्म चल्ने समिक्षामा शाखाहरुको प्रतिवेदन प्रस्तुतिसहित आगामी कार्ययोजनाबारे छलफल हुने संस्थाका अध्यक्ष ई. देवले जानकारी दिएका छन् ।