• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भ्रष्टाचारबाट अलग राख्न नचाहनेहरुलाई ठूलो परिणाम भोग्नुपर्नेछः आयुक्त डा.गुरुङ्ग

भ्रष्टाचारबाट अलग राख्न नचाहनेहरुलाई ठूलो परिणाम भोग्नुपर्नेछः आयुक्त डा.गुरुङ्ग

राजविराज, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङ्गले भ्रष्टाचार ठूलो महामारीको रुपमा रहेकोले यसलाई निर्मूल पार्न आ–आफ्नो तहबाट जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सप्तरीको राजविराजमा विहीवार जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका’ विषयक अन्तक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । भ्रष्टाचारबाट आफुलाई अलग राख्न नचाहनेहरुले आगामी दिनहरुमा ठूलो परिणाम भोग्नुपर्ने आयुक्त थापाले चेतावनी दिँदै उनले भने ‘ भ्रष्टाचार ठूलो महामारीको रुपमा रहेकोले यसलाई निर्मूल पार्न आ–आफ्नो तहबाट जिम्मेवार बन्नुपर्छ, भ्रष्टाचारबाट आफुलाई अलग राख्न नचाहनेहरुले आगामी दिनहरुमा ठूलो परिणाम भोग्नुपर्नेछ ।’
संघीय मामिला, शिक्षा, स्वास्थ्य, भुमि सुधार, भौतिक, गृह, शहरी विकाससहितका मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा भ्रष्टाचारको अवस्था बढ्दो रुपमा रहेको उनले बताईन् । सार्वजनिक ओहदामा बसेका पदाधिकारीहरुले आफ्नो काम पारदर्शी, जनउत्तरदायी तथा सदाचारयुक्त ढङ्गले गर्न डा. गुरुङ्गले चेतावनी दिए ।
आयोगकी आयुक्त डा.गुरुङ्गले भ्रष्टाचार न्युनिकरण नभएसम्म समूदाय र देशको विकास नहुने भएकोले भ्रष्टाचार न्युनिकरण गर्नका लागि सरकारी कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । असल शासन स्थापना गर्नका लागि आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने कार्यमा तदारुकताका साथ लाग्न सम्वन्धित पदाधिकारीहरुलाई उनले निर्देशन दिए ।
सप्तरी जिल्लाबाट विकास निर्माण, उपभोक्ता समितिद्वारा अनियमितता, विद्यालयमा आर्थिक अनियमितता, छात्रबृति वितरण, सामाजिक सुरक्षा भत्ता, पाठ्यपुस्तक वितरणमा अनियमितता लगायतका विषयहरुमा उजुरी परेको उनले बताईन् । समयमा सही सूचना तथा सरोकारवाला कार्यालयहरुलाई सोधिएका पत्रहरुको जवाफ नआउँदा उजुरीहरुमाथि कार्वाही गर्न समस्या भईरहेको डा. गुरुङ्गले जानकारी दिए ।
अन्तरक्रियामा आयोगका सह–सचिव दिर्घराज मैनालीले देशभरिमा रहेको भ्रष्टाचारको अवस्थाबारे ५ वर्षे कार्यपत्र प्रस्तुत गरे । कार्य पत्रअनुसार देशभरिमा बढ्दो रुपमा भ्रष्टाचार रहेको छ भने सवैभन्दा बढि संघिय मामिला मन्त्रालय अन्तर्गतका कार्यालयमा भ्रष्टाचार रहेको उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रदीप कुमार कोईरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, अधिकारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, सरकारी कार्यालयका प्रमुख, नगरपालिका, गाउँपालिकाका प्रमुख तथा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रमुखहरु समेतको सहभागिता रहेको थियो । उनीहरुले आयोगको कामकार्वाहीको विषयमा आ–आफ्नो सुझाव दिएका छन् ।