राजकुमार पासवान
शम्भुनाथ, १८ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–६ स्थित कठौना बजारमा विहीवार विहान डोम समुदायलाई चिया खान रोक लगाएको छ ।
स्थानीय कपलेश्वर मरिक, जुगाई मरिक, प्रमेश्वर मरिक र डाकनेश्वरी नगरपालिकाका राजेन्द्र मरिक लगायतका डोमहरुले शम्भुनाथ नगरपालिका ५ स्थित कठौना बजार विहान चिया खान जाँदा होटेल सञ्चालक विरेन्द्र साह, गणेश साह, बैजु साह, राजु साह, नारायण साह लगायतले होटलमा चिया खान जाँदा कुनै पनि होटलमा चिया खान नदिएको राजेन्द्र मरिकले जानकारी दिएका छन् । डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले देशमा गणतन्त्र स्थापना भए पनि छुवाछुत गरी डोम समुदायलाई चिया समेत खान रोक लगाउनु घोर निन्दनिय कार्य भएको बताए । छुवाछुत विभेद ऐन अनुसार दोषीहरुलाई कार्वाही हुनुपर्ने प्रतिक्रिया दिएका छन् । डोम उत्थान समिति सप्तरीका अध्यक्ष मरिकका अनुसार शम्भुनाथ नगरपालिका स्थित कठौना प्रहरी चौकी छुवाछुत सम्बन्धी निवेदन समेत दिएको तर पनि कुनै कार्वाही नभएको उनले गुनासो गरेका छन् ।