राजविराज, १६ माघ । आइडियल सहकारी संस्थाले एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ सप्तरीलाई फर्निचर सामग्री हस्तान्तरण गरेको छ ।
कार्यालय प्रयोजनका लागि सोफासेट, टेबुल, कुर्सी, पंखा, पर्दा समेत गरी एक लाख २८ हजार रुपैयाँ मूल्य बराबरको सामग्री मंगलबार एक कार्यक्रम बीच महासंघलाई हस्तानान्तरण गरिएको हो । सहकारी संस्थाका अध्यक्ष गणेशकुमार आशले खरिद गरेको सामग्री सहित सूची महासंघका अध्यक्ष जितेन्द्रकुमार खड्गालाई हस्तान्तरण गरेका छन् ।
कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरको अभाव भइरहेको महशुस गरेर सहकारी संस्थाले यस्तो सामग्री प्रदान गरेको संस्थाका सञ्चालक शैलेश चौधरीले जानकारी दिए । समाजिक रुपान्तरणमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा समेत थप सशक्त भूमिकाको उनले अपेक्षा गरे ।
कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समितिका सदस्य विजयानन्द झा, नेपाल पत्रकार महासंघ शाखाका पूर्वहरु अध्यक्ष शिवहरी भट्टराई, धीरेन्द्रप्रसाद साह, वरिष्ठ पत्रकार अनिल कुमार अनल, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले आइडियल सहकारी संस्थालाई धन्यवाद दिएका छन् । कार्यक्रम सञ्चालन महासंघका सह–सचिव चन्दन यादवले गरे ।