• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेशलाई समृद्ध बनाउन प्रतिवद्ध रहनेछुः विधायक यादव

प्रदेशलाई समृद्ध बनाउन प्रतिवद्ध रहनेछुः विधायक यादव

राजविराज, १५ माघ । प्रदेश सभा सदस्य प्रमिला कुमारी यादवले सिंचाई, शिक्षा, यातायात र स्वास्थ्य प्रमुख समस्या भएको भन्दै आफुले समाधानकालागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
राजविराज स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्वर–२ को प्रदेश सभा सदस्यमा चयन भएकी उनले भनिन् ‘यो प्रदेशमा सिंचाई, शिक्षा, यातायात र स्वास्थ्य प्रमुख समस्याको रुपमा रहेको छ, यसको समाधानकालागि पार्टी तथा प्रदेश सभामा समेत जोडदार रुपमा आवाज उठाउनेछु ।’
राजविराज नगरपालिका वडा नम्वर–२ निवासी प्रमिलाले सप्तरीसहित प्रदेश अन्तर्गतका जिल्लाहरुमा कृषि क्षेत्रको समुचित प्रवद्र्धन गर्न सकिए चाडै समृद्धितर्फ लम्किने बताईन् । किसानलाई सिंचाई, सुलभ मलखाद्य र गुणस्तरीय बीऊबिजनको व्यवस्था हुनुपर्नेमा जोड दिँदै उनले भनिन् ‘म किसानकी छोरी हुँ, त्यसैले कृषि क्षेत्रको समस्या नजिकबाट बुझेकोले यसकालागि संघर्ष गर्नेछु ।’ अहिले निर्वाहमुखि खेती हुँदै आएको आधुनिकीकरण एवम् व्यवसायिकरण आवश्यक रहेकोले किसानहरुलाई प्रविधी तथा आधुनिक खेतीबारे प्रशिक्षण दिएर अगाडि बढाउनुपर्ने उनले जोड दिईन् ।
स्नातक तहसम्म अध्ययन गरेकी प्रदेश सभा सदस्य प्रमिलाले हुलाकी सडक निर्माण नहुनुले यो क्षेत्र पछाडि परेको भन्दै हुलाकी सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने बताईन् । यस अतिरिक्त प्रदेश नम्वर–२ मा कृषि उद्योग स्थापनाकालागि आफु अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । मधेशका महिलाहरु अझैं निर्णायक तहमा पुग्न नसकेको बताउँदै महिला सशक्तिकरण आवश्यक रहेको उनको ठम्याई छ ।
२८ वर्षिया प्रमिला क्याम्पसमा अध्ययनरत रहँदादेखि नै राजनीतिमा रुची राख्ने गर्थिन् । २०६९ सालमा आफु माओवादीमा आवद्ध भई विभिन्न गतिविधीमा सहयोग गर्दैआएकोमा पार्टीले मूल्यांकन गरेको बताउँदै उनले भनिन् ‘पार्टीप्रति वफादार भएर ईमानदारीका साथ जनताकालागि जनपक्षीय कार्यहरु गर्नेछु ।’