राजविराज, १४ माघ । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले नगरमा वर्षौदेखिको बढ्दो अतिक्रमण हटाउन तत्कालै ठोस कदम चाल्न लागेको बताएका छन् ।
नगर सभाकक्षमा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएका हुन् । देशकै पुरानो नगरमा विभिन्न समस्या रहेकोले प्राथमिकताको आधारमा समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘सोमवार जिल्ला स्थित सुरक्षा समितिको बैठक बोलाउन लागेका छौं, सुरक्षा संयन्त्रसँग समन्वय गरी अतिक्रमण हटाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन लागेका छौं ।’ नगरमा अतिक्रमण हटाउने क्रममा बाधा अवरोध व्यापक रुपमा आउने भएकोले सञ्चारकर्मीसहित आम नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न प्रमुख यादवले आग्रह गरेका छन् ।
आफु नगरमा निर्वाचित भएपछि जिम्मेवार भएर काम गरिरहेको जानकारी दिँदै राजविराज नगरपालिकाको सम्पूर्ण वडाहरुको विकासकालागि आफु प्रतिवद्ध रहने उनले बताए । निर्वाचित भएको करिब साढे तीन महिनामा आफुसहितका पदाधिकारीहरुले जिम्मेवार भएर काम गरिरहेको नगर प्रमुख यादवले जानकारी दिए । हालसम्म बस पार्क निर्माण द्रुत गतीमा कार्य अगाडि बढाएको, शहिद गेट तथा शहिद स्मारक निर्माण गर्ने निर्णय, सबै वडाहरुमा व्यवस्थित रुपमा बिजुली वत्ती व्यवस्थापन, वडा कार्यालयहरु व्यवस्थापन, सडक विभाग तथा शहरी विकास डिभिजन कार्यालयसँग समन्वय गरी योजना छनौट तथा सञ्चालन, रामराजा–रामबृक्ष स्मृति सभा भवनका लागि जग्गा छनौट, फोहोर मैला व्यवस्थापन गर्न स्यानेटरी ल्याण्ड फिल्ड साइटका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
प्रमुख यादवका अनुसार वडाहरुमा लामखुट्टे नियन्त्रण गर्न औषधी छर्कने कार्यक्रम सञलन गरेको, विपन्न परिवारलाई कम्बल वितरण, चिसोबाट जोगिन दाउरा वितरण वितरण, शहिद परिवारलाई सम्मान, कोल्ड स्टोरेज निर्माण गर्न जग्गा छनौट, खानेपानी ओभर ट्यांक निर्माण गर्न जग्गा छनौट, विश्व बैंकद्वारा शहरी विकास मन्त्रालय मार्फत छनौट गरिएको कन्सल्टेन्टबाट रिङ्ग रोड, फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र र अन्तर्राष्ट्रिय स्तरको खेलकुद रङ्गशाला निर्माणकालागि पूर्वाधारको डिपिआर भईरहेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले आर्थिक वर्ष २०७४÷०७५ को योजना समेत सार्वजनिक गरेका छन् ।
कार्यक्रममा उप–प्रमुख साधना झा, प्रशासकीय अधिकृत उमेश कुमार यादव, कार्यक्रम अधिकृत प्रफुल्ल कुमार श्रेष्ठ, वडा अध्यक्षहरु समेतको उपस्थिति थियो । पत्रकारहरुले नगरमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न सुझाव दिएका छन् ।