• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय सभाकालागि प्रदेश नम्वर–२ मा एमालेद्वारा ५५ जनाको नाम सिफारिस

राष्ट्रिय सभाकालागि प्रदेश नम्वर–२ मा एमालेद्वारा ५५ जनाको नाम सिफारिस

राजविराज, ४ माघ । राष्ट्रिय सभाकालागि नेकपा एमाले प्रदेश नम्वर २ संगठन कमिटिले ५५ जनाको नाम सिफारिश गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजमा बिहीबार बसेको एमाले प्रदेश संगठन कमिटिको वैठकले नाम सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर दुईबाट निर्वाचित हुने आठ जना राष्ट्रिय सभा सदस्यकालागि तीन महिला, तीन अन्य, एक दलित र अपाङ्ग वा अल्पसंख्यकबाट एक जना निर्वाचित हुनेछन् । आठ जनाका लागि एमाले केन्द्रले एक बराबर तीन जनामा नबढ्ने गरी २४ जनाको नाम सिफारिश गर्न निर्देशन जारी गरेको थियो ।
वैठकमा सप्तरीबाहेक अन्य जिल्लाबाट धेरैजनाको नाम आएपछि छलफल गरी ५५ जनाको नाम पठाउने निर्णय गरिएको कमिटिका संयोजक एवं स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिएका छन् । सप्तरीबाट सुमनराज प्याकुरेलको मात्र नाम सिफारिश भएको छ भने सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३ जना, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२ जना, पर्साबाट प्रभु हजरा, निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश भएको संयोजक मण्डलले जानकारी दिएका छन् ।
रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच जना, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच जना, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार जना, महोत्तरीबाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ । सिफारिश गरिएकाहरुबाट एमालेले छनौट गरी एमाले र माओवादीको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ ।
यस्तै राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि एमाओवादीसँग समन्वय गरी प्रदेश नम्बर दुईमा मतदाताहरु बीच भेला राखिने निर्णय भएको कमिटीका सहसंयोजक नागेन्द्र चौधरीले बताए । सर्लाही, धनुषा र महोत्तरीको मतदाताहरुको भेला माघ ११ गते जनकपुरमा, बारा, पर्सा र रौतहटको माघ १२ गते बारामा तथा सप्तरी र सिरहाको् माघ १३ गते लहानमा भेला हुने जनाईएको छ ।
वैठकले तराई मधेसमा शितलहरले मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै द्रुत गतीका साथ राहत वितरण गर्न सरकारसँग माग गरेको छ । वैठकमा सहभागी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई एमाले सप्तरीले खादा र माला पहि¥याएर सम्मान गरेको थियो । संयोजक मण्डलको अध्यक्षतमा बसेको बैठकले गत मंसिर १२ गते मृत्यु भएका महोत्तरी जिल्ला कमिटिका अध्यक्ष जामुन मण्डलप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा प्रदेश नम्बर दुईका आठ ओटै जिल्लाबाट ३५ जनाको सहभागिता रहेको थियो ।