• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चन्दनलाई लोकेन्द्र स्मृति र प्रमिलालाई उमा सिंह पत्रकारिता पुरस्कार

चन्दनलाई लोकेन्द्र स्मृति र प्रमिलालाई उमा सिंह पत्रकारिता पुरस्कार

राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस पटक पत्रकार चन्दनकुमार यादवलाई बुधवार प्रदान गरिएको छ ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका उनलाई नगद २ हजार ५ सय १ रुपैयाँ सहित पुरस्कार प्रदान गरिएको हो । २४औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा २३ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झा र विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पत्रकार यादवलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज घर भएका महासंघ सप्तरी शाखाका सह–सचिव यादव स्थानीय राजविराज टुडे दैनिक तथा मधेशवाणी साप्ताहिकमा कार्यरत छन् ।
सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा रहस्यमय हत्या भएको थियो । उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो ।
राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थिया े।
सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कारबाट एफएमकर्मी प्रमिला चौधरीलाई प्रदान गरिएको छ । नवौं उमा सिंह स्मृति दिवसको अवसर पारेर चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका स्थित सखी एफएमका सञ्चालक समेत रहेकी सञ्चारकर्मी चौधरीलाई प्रदान गरिएको उक्त पुरस्कारको राशी १ हजार १ सय १ रहेको छ ।
प्रत्येक वर्ष सप्तरीका एक जना युवा पत्रकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले साहसिक एवम् जुझारु युवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिदैआएको छ ।
महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, महासंघका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, मनोहर कुमार पोखरेललगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन सचिव जितेन्द्र कुमार झा तथा महिला उपाध्यक्ष सुधा देवले स्वागत मन्तव्य व्यक्त गरे ।